भोक्राहा नरसिंहमा जनताको समस्या बुझ्न गाउँपालिका अध्यक्ष जनताको घर घरमा

नसीम अन्सारी
इनरुवा,।  सुनसरीको भोक्राहा नरसिंह  गाउँपालिकामा जनतासँग अध्यक्ष कार्यक्रमको सुरुवात गरिएको छ ।

कार्यक्रमको मूख्य लक्ष्य पालिका भित्रको बिकास निर्माणको अवस्था बारे जनता सामू प्रत्यक्ष जानकारी गराउदै प्रतिकृया बटुल्नु रहेको बताइएको छ ।

गाउँपालिका भित्र रहेका साविकका दुवै गाविस र त्यस मातहत पर्ने वडा सम्मको घरदैलो कार्यक्रमलाई उक्त अभियानमा समेटिने गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले बताए ।

गाउँपालिका अध्यक्ष अजादका अनुसार साविकका २ वटै गाविस भित्र पर्ने तत्कालिन अवस्थामा रहेका १८ वटा वडामै पुग्ने गरी अभियान थालनी गरिएको छ । जस अन्र्तगत सबै टोल, वस्ती, समूदाय र वडामा घरदैलो गरिने छ ।

चुनावका बेला मात्रै नेता घरदैलोमा आउछन भन्ने आम बुझाईलाई चिर्न समेत आफ्नो अभियान महत्वपूर्ण सावित हुने अजादको भनाई छ ।

उनले अभियान अन्र्तगत अहिले सम्म २ वटा वडाको कार्यक्रम सकाएको बताए । अजादले जनताको अपेक्षा, चाहना र गुनासाहरु सम्बोधन गर्दै अघि बढिरहेको जानकारी दिए ।

अजादले भने, ‘भैरहेका बिकास निर्माणका साथै गाउँपालिकाको समग्र बजेट र त्यसको कार्यान्वयन जस्ता विषयमा जनता जानकार हुनु जरुरी छ । तर, टाठाबाठा बाहेक अधिकांश सो विषयमा बेखबर पाएकाले आफैं जनताको घरदैलोमा गएर जानकारी गराउन अभियानमा जुटेको छु ।’

वडागत हुँदै समग्र पालिका भित्र संचालित गतिविधि र खर्चको विवरण बारे जनतामाझ जानकारी गराउने उद्देश्य साथ थालनी गरिएको अभियानमा गाउँवासी समेतको सहभागिता उल्लेख्य रहँदै आएको अध्यक्षले बताए ।

अजादले घरदैलोमा स्थानीयलाई भेट्नुका साथै स्थानीय चोक र वडामा सामूहिक छलफलको आयोजना गर्दै आएको बताए । सो क्रममा आफैंलै जनता सामू चासो किन नगरेको भन्दै प्रश्न गर्ने गरेको सुनाए ।

गाउँपालिकामा भैरहेको बिकास निर्माण, गुणस्तरीयताको विषय, समस्या, अपेक्षा र गुनासाहरु भए सोझै आफुलाई जानकारी गराउन गाउँवासी समक्ष आग्रह गर्दै आएको अजादले बताए ।

गाउँपालिकाले योजनाहरु समेत संचालनमा ल्याएको बताएका अध्यक्षले त्यसको निगरानी गर्दै कमसल काम भएको भए खबरदारी गर्न समेत गाउँवासी समक्ष आग्रह गरेका छन् ।

उनले भने, ‘जति मात्रामा जनता जागरुक हुनु पर्ने हो त्यति भएको पाइएन् । त्यसैले स्वयं अभियान लिएर घरदैलो मार्फत जनता सामू पुग्ने क्रमको सुरुवात गरेको हुँ ।

जसलाई निरन्तरता दिईरहने छु ।’ अध्यक्षको अभियानलाई सकारात्मक कदम भएको भन्दै स्थानीयहरुले समेत साथ दिएको बताए छन् ।

नेपाली काँग्रेस भोक्राहा नरसिंहका सचिव असफाक अन्सारीले जनतासँग अध्यक्ष कार्यक्रमले सबैलाई एक सूत्रमा बाध्ने काम गरेको बताए । उनले अध्यक्षको अभियानले जनप्रतिनिधि र जनता बिचको सम्वन्ध थप मजबुत बनाउँदै लगेको बताए ।

गाउँपालिका अध्यक्षले थालेको अभियानलाई वडाअध्यक्षहरुले समेत रुचाएका छन् । हरेक वडा सम्म पुगेर गाउँपालिका अध्यक्षले प्रत्यक्ष जनतासँग साक्षात्कार गर्ने भएकाले वडागत योजनाको अवस्था र समस्या सिधै गाउँपालिका सम्म पुग्नेमा उनीहरु ढुक्क देखिएका छन् ।

वडा अध्यक्ष आलम अन्सारीका अनुसार जनताको घरदैलोमा अध्यक्ष पुग्दा वडाका सबै समस्या र वडावासीको अपेक्षा सुनुवाईको सम्भावना छिटो रहन्छ । जसले जनप्रतिनिधि र गाउँपालिका सँगको जनताको सम्वन्ध प्रगाढ र सुमधुर बनाउन मद्दत पुग्ने छ ।

अभियानलाई गाउँपालिकाको कार्यालयका कर्मचारीहरुले समेत सकारात्मक कदम भनेका छन् । प्रत्यक्ष सुझाव र योजनाबारे जानकारी हुने भएकाले सो अनुरुपका कार्यक्रमहरु संचालनमा ल्याउन जनतासँग अध्यक्ष कार्यक्रम प्रभावकारी ठहरिने प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेको बुझाई छ ।

घिमिरेले गाउँपालिकामा धेरै काम भएको भन्दै अन्य पालिकाको दाँजोमा बिकास निर्माणको सवालमा भोक्राहा नरसिंह अब्बल स्थानमा रहेको दाबी गरे । सोही अनुरुप निरन्तरताको लागि सिङगो गाउँपालिका अघि बढिरहेको उनले बताए ।

Related Posts