विराटनगर,। विराटनगरस्थित जिल्ला कारागार मोरङमा पूर्पक्षको लागि थुनामा रहेका एक जना बन्दीको रहस्यमय मृत्यु भएकोबारे छानविन गर्न स्थानीय प्रशासनले चार सदस्यीय छानविन समिति बनाएको छ ।
आफन्तले छानविन समितिको माग गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले छानविनका लागि भन्दै सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार साहको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिका अन्य सदस्यहरुमा कोशी अस्पतालका डाक्टर मनोज ठाकुर, प्रहरी निरीक्षक हेमराज ओली र लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ सदस्य छन् ।
उक्त समितिलाई भुजेलको मृत्यु भएको घटनाका सम्बन्धमा छानविन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताएका छन् ।
पूर्पक्षको लागि थुनामा रहेका मोरङको लेटाङ–४ घर भएका ४० वर्षीय केशरबहादुर भुजेलको गत बिहीबार बेलुका झण्डै साढे ५ बजेतिर उपचारको क्रममा कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको थियो ।
भूजेलको मृत्युको घटनालाई उनका परिवारले रहस्यमय भन्दै पोष्टमार्टम नगर्ने र घटनाको घानविन हुनुपर्ने अडान लिएका थिए । भुजेललाई कारागारभित्रै मरणासन्न हुने गरी कुटपिट गरेर उपचारका लागि ल्याइएको र मृत्यु भएको आफन्तको दाबी छ ।
भुजेलको मृत्यु हुनुभन्दा एक घण्टा अगाडि ४ बजे मृतकका भान्जी एलिना भूजेललाई खबर गएको थियो । मृतकका आफन्तले शव हेर्दा कुटपिट गरेको देखिएको र टाउकोमा चोट तथा रगत देखिएको दाबी गरेका छन् ।
श्रीमानलाई कारागारभित्रै कुटपिटपछि घाइते बनाएर अस्पताल ल्याएको आशङ्का भएको भुजेलकी श्रीमती रामकुमारी भुजेलले बताइन् ।
पोष्टमार्टम गरेपछि छानविन ढिसमिस हुने अवस्था रहेको भन्दै आफन्तले कोशी अस्पतालको शवगृहमै शव राख्ने र छानविन प्रतिवेदन आएपछि मात्रै पोष्टमार्टम गर्न दिने बताएका छन् । ‘अहिलेसम्म शव बुझेका छैनौं,’ भान्जी एलिनाले भनिन् ।
कारागार प्रशासनले भने पेट दुख्ने र बान्ता हुन थालेपछि भुजेललाई बिहीबार दिउँसो १२ बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पु¥याएको थियो ।
कोशीको आइसियू खाली नभएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लैजान कारागार प्रशासनलाई हस्पिटलले भनेको थियो । तर, उनको उपचारको लागि अरु अस्पताल नलगिँदा उनको मृत्यु भएको थियो ।
मोरङ कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदी बन्दी रहेका छन् । कारागारभित्र नाइकेको निर्देशनमा भाइ नाइकेहरुले कुटपिट गर्ने गरेको गुनासो बेलाबेलामा आउने गरेको छ ।
यस्तै कैद भुक्तान गरी निस्किएकाहरुले दिएको जानकारी अनुसार मोरङ कारागरामा १० दिन ( १, ११ र २१ गते) भित्र कारागारभित्रको खानपिन गरेको हिसाब (बन्डा) नमिलाए कैदीबन्दीहरुलाई चौकीदार र उनका निर्देशनमा नाइके, भाइ नाइकेहरुले यातना दिने गर्छन् ।
यातना दिएको कारणले कतिपयको उपचार गर्न लैजाने क्रममा बाटोमा मृत्यु हुने गरेका घटनाहरु पनि छन् । आफन्तले भने पटपटक पिसाब लाग्यो भन्नु र पेट दुख्या भन्दै शौचालय जानुमा भुजेलको अण्डकोषमा कुटपिट भएको लक्षण भएको दाबी गरेका छन् ।
मगर गत कार्तिक ६ गते जबरजस्ती करणीमा पक्राउ परेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग दायर गरेपछि मोरङ अदालतले मगरलाई पूर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो ।
अदालतको आदेशपछि मगर कार्तिक अन्तिम सातादेखि मोरङ कारागारमा थिए । मोरङ कारागारमा शुक्रबारसम्म ९४७ पुरुष र ९५ महिला गरी १ हजार ४२ जना कैदीबन्दी रहेका छन् ।