लौकही काँकडभिट्टा सडक खण्डका ११ हजार रुख काटिने

सुनसरी,। पूर्वपश्चिम राजमार्गको लौकही-काँकडभिट्टा सडक खण्ड स्तरोन्नतिका क्रममा ११ हजार पाँच सय १३ वटा रुख कटान हुने भएको छ ।

वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनमा आधारमा रुख कटान गर्नुपर्ने भएको लौकही-काकरभिट्टा सडक आयोजना इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिए ।

लौकहीबाट काँकडभिट्टासम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७ दशमलव सात सय ७० किलोमिटर सडक मात्र ठेक्का लागेको छ ।

डिभिजन वन कार्यालय मोरङका वन अधिकृत घनश्याम यादवका अनुसार मोरङ खण्डको ३६ किलोमिटर क्षेत्रमा पाँच हजार पाँच सय ५६ वटा रुख पर्छन् ।

मोरङ खण्डका मङ्गलबारे, पथरी, कानेपोखरी, बेलबारी र सलकपुर सवडिभिजन वन कार्यालयले सडक क्षेत्रमा पर्ने रुखको धमाधम छपान गरिरहेको यादवले बताए । पाँच वटै सव डिभिजन वन कार्यालयबाट चार÷पाँच जना जनशक्ति परिचालन गरी रुख छपान गर्ने काम भइरहेको छ ।

सडक क्षेत्रबाट ३५ मिटर क्षेत्र भित्र पर्ने रुख मात्र काटिने र काटिएका रुखको दश गुणा बढी बिरुवा रोपिने उनले बताए । पूर्वपश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक खण्ड स्तरोन्नति तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजना अघि बढेको छ ।

एसियाली विकास बैङ्कले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ । सडकको लागत रु २८ अर्ब १७ करोड रहेको छ ।

Related Posts