नसीम अन्सारी
भुटाहा,। नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले मेची पुलबाट स्थानीय जनताको गुनासा सुन्नका लागि सुरुवात गरेको संवाद यात्रा आज सुनसरीको हरिनगर पुगेको छ।
महामन्त्री थापाको संवाद यात्रा हरिनगर गाउँपालिका पुग्दा हरिनगरका स्थानीयवासी जनता, किसान, नेता, कार्यकर्ता,पार्टीका भातृसंस्था लगायत विभिन्न व्यक्तिहरुसँग भेटघाट गरि गुनासो र विकास आयोजनाका कुरा सुनेर टिपोट गरेको हो।
संवाद यात्राका क्रममा हरिनगर गाउँपालिकामा जनताहरुको समस्या र गुनासो सुनेपछि हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले महामन्त्री गगन कुमार थापाको ध्यानाकर्षण गराउदै पार्टीको बैठक तथा सदनको बैठकमा यहाँ जनताहरुको कुरा राख्न सुझाव दिएका छन् ।
अध्यक्ष अन्सारीले हरिनगरामा रहेका इलाका प्रहरी कार्यालय सबैभन्दा पुरानो रहेको तर आफुले २०७४ साल देखि पटक-पटक गृहमन्त्रीहरुको ध्यानाकर्षण गराउदै आईरहेको भएपनि अहिलेसम्म प्रहरी निरीक्षक पठाउन सकेको छैन ।
सुनसरीको दक्षिण क्षेत्रमा खुल्ला सिमा भएको कारण यहाँका किसानहरुको गाई, गोरु, भैंसी दिनु चोरी भइरहेका छन् । यस विषयमा पार्टी तथा सरकारलाई ध्यानाकर्षण गराउन महामन्त्री थापालाई अनुरोध गरेको छ।
साथै दक्षिण भेगका किसानहरुको समस्याहरु सुनाउदै यस क्षेत्रमा दुईवटा सब्जी मणडी बजारको पहल गर्ने महामन्त्री थापालाई सुझाव दिनुभएको हो। यस क्षेत्रमा सब्जी मण्डी बजार भएपछि यहाँका किसानहरुले बिचोलिया मार्फत हैन सिधा व्यापारीलाई आफ्नो सब्जी बिक्रीवितरण गर्न सकिन्छ ।
हरिनगरका जनतासँग भेटघाटपछि हरिनगर गाउँपालिकामा जारी रहेका विकासका कामहरु १५ शैया अस्पताल भवन, गाउँपालिकाको प्रशासनिक भवन, कृषि औजार र २४ घण्टा उपचार भईरहेका प्राथमिक स्वास्थ्य केन्द्रको समेत महामन्त्री गगन कुमार थापाले निरीक्षण गरेका छन् ।