आईसीसी यू-१९ विश्वकपमा नेपाल बंगलादेशसँग पराजित

BLOEMFONTEIN, SOUTH AFRICA - JANUARY 31: Chowdhury Md Rizwan of Bangladesh is stumped by Bipin Rawal of Nepal during the ICC U19 Men's Cricket World Cup South Africa 2024 Super Six match between Nepal and Bangladesh at Mangaung Oval on January 31, 2024 in Bloemfontein, South Africa. (Photo by Alex Davidson-ICC/ICC via Getty Images)

काठमाडौं,। नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्स खेलमा बंगलादेशसँग पराजित भएको छ ।

दक्षिण अफ्रिकमा जितका लागि पाएको १७० रनको मध्यम लक्ष्य बंगलादेशले २५.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि खेल जिताउन सकेनन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो । नेपालका मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले १ सय बलमा ६ चौकासहित सर्वाधिक ४८ रन बनाए ।

यस विश्वकपमा उनले पहिलो पटक खेल्ने मौका पाएका हुन् । सुपर सिक्स खेल्नु अगावै सेमिफाइनल दौडबाट बाहिरिएपछि नेपालले दीपक डुम्रेको स्थानमा विशाललाई मौका दिएको थियो ।

कप्तान देव खनाल ६० बलमा ३ चौकासहित ३५ रनमा आउट भए । सुवास भण्डारी ३४ बलमा १८ रनमा नट आउट रहे । दुर्गेश गुप्ता १४ बलमा १ छक्कासहित ९ रनमा आउट भए ।

एक समय ८.३ ओभरमा २९-३ को अवस्थामा पुगेको नेपालका लागि देव र विशालले ११५ बलमा ६२ रनको साझेदारी गरेका थिए । उक्त साझेदारीले नेपाल एक समय २७.३ ओभरमा ९१-३ को अवस्थामा थियो ।

तर देव जिशान आलमको बलमा कभरमा क्याच आउट भएपछि नेपालले लगातार विकेट गुमाउँदा बलियो योगफल बनाउने अवसर गुमाएको थियो ।

गुल्शन झा, दीपक बोहरा र दीपेश कँडेल ३-३ रनमा आउट भएपछि नेपाल समस्यामा परेको थियो । गुल्शन यू-१९ एसिया कपपछि विश्वकपमा पनि चल्न सकेनन् ।

यस विश्वकपमा गुल्शन न्युजिल्यान्डसँग २, पाकिस्तानसँग १८ र अफगानिस्तानसँग १ रनमा आउट भएका थिए ।

बंगलादेशका तीव्र गतिका बलरले सुरुवात देखिनै सट र बाउन्सर बलमा नेपाली ब्याटरलाई दबाबमा राखेका थिए । अर्जुन कुमाल २६ बलमा २ चौकासहित १४ रनमा आउट भए ।

विपिन रावल २ र आकाश त्रिपाठी ३ रनमा आउट भएपछि नेपाल ८.३ ओभरमा २९-३ को अवस्थामा पुगेको थियो ।

बंगलादेशका रोहनत दोउल्लाह बोर्सनले ८.५ ओभरमा २ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । शेख प्रवेज जिवनले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले १-१ विकेट लिए ।

Related Posts