सुनसरी,। विराटनगरको कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी एक महिलालाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्धार गरि परिवारको जिम्मा लगाइएको छ ।
महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा ८५ वर्षीया तारादेवी पोद्धारको उद्धार गरी महानगरले परिवारको जिम्मा लगाएको हो । स्थानीयले अलपत्र परेकी महिलाको बारेमा मेयर कोइरालालाई जानकारी गराएपछि तत्कालै नगर प्रहरीले उद्धार गरेको थियो ।
मेयर कोइरालाको निर्देशनमा नगर प्रहरीले गाडीमा राखेर विभिन्न स्थानमा पुर्याएर महिलाको घरका विषयमा सोधीखोजी गरेको थियो । एकजना व्यक्तिले उनलाई चिनेपछि घरको पहिचान भएको थियो ।
विराटनगर–३ दुर्गाचोकस्थित घरबाट घुम्न नस्किएकी पोद्धार बाटो बिर्सिएर कञ्चनबारी पुगेकी थिइन् । कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी पोद्धारले सुरुमा आफ्नो घर बुद्धचोक भएको र छोराको नाम भोला भएको बताएकी थिइन् ।
नगर प्रहरीले एक्कासि तारादेवीलाई लिएर घरमा पुग्दा परिवारका सदस्यहरुबीच कोहोलो मच्चाएर रोएका थिए । नगर प्रहरीका सई तीर्थजंग खत्री नेतृत्वको टोलीले छोरा भोला र नातिनी काजलको जिम्मा लगाएको थियो ।
हराएकी आमालाई सकुशल घरमा पुर्याएपछि नातिनी काजलले महानगरपालिकालाई धन्यवाद दिएकी थिइन् । “महानगरपालिका हाम्रा लागि त भगवान् नै प्रकट भएजस्तो भएको छ,” काजलले रुँदै भनिन् ।