सुनसरीमा तरकारी खेती तर्फ आकर्षण बढ्दै

फाईल तस्बिर

इनरुवा,। सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका ग्रामीण क्षेत्रका कृषक पछिल्लो समय तरकारी खेती तर्फ आकर्षित भएका छन् ।
सुनसरीको इनरुवा, भोक्राहा, कोसी, हरिनगर, देवानगन्ज लगायतका क्षेत्रका स्थानीयवासी पछिल्लो समय तरकारी खेती तर्फ आकर्षित भएका हुन् । कृषकले मौसमी र बेमौसमी तरकारी खेती गरेर आत्मनिर्भर बन्न थालेका छन् ।

जिल्लाको बिभिन्न स्थानीयतहमा कृषिसँग सम्बन्धित आयोजनाले प्राविधिक ज्ञान तथा सिपमुलक तालिम दिनुका साथै अनुदान लगायतका कार्यक्रम सञ्चालन गरेपछि कृषक तरकारी खेतीतर्फ आकर्षित भएको इनरुवा ७ का किसान क्षेदन चौधरीले बताउनुभयो ।

स्थानीय कृषकले सुरुमा एक, दुई कठ्ठामा तरकारी खेती गर्दै आएकामा अहिले पाँच कठ्ठाभन्दा बढी क्षेत्रफलमा तरकारी लगाउँदै आएको हरिनगरका चन्दन मेहताले बताउनुभयो ।

स्थानीय कृषकले आलु, काउली, टमाटर, बन्दा र क्यापसीकन, करैला, परवल, बोडि, फर्सि,च्याउ, भण्टा, काक्रा लगायतका तरकारी बाली लगाउदै आएको छ ।

प्लाष्टिक मल्चिङग ड्याङ्ग, सिचाई, खाद्यमल, बिउँ बिजन, मागमा अधाररित युवा लक्षित कार्यक्रम, नमुना कृषि फर्म स्थापना लगायतका कार्यक्रम तरकारी खेती गर्दै आएको स्थानीय कृषकलाई प्रदान गर्दै आएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो ।

सुनसरीका कृषकले तरकारी खेती बाटै बार्षिक रुपमा दुई लाख देखि ३० लाख रुपैया सम्म आम्दनी गर्दै आएका छन् । यहाँका कृषकले उत्पादन गरेको तरकारी सुनसरी सदरमुकाम इनरुवा ४ स्थित बस चौकमा दैनिक रुपमा लाग्ने गुद्रीमा बिक्रि गर्नुका साथै झुम्का, इटहरी, तरहरा सहित काठमान्डौं सम्म समेत पुर्याउदै आएको छ ।

पछिल्लो समय तरकारी बालीमा लाग्ने गरेको रोग किराको प्रकोपका कारणले सोचे जतिको आम्दनी हुन नसकेको स्थानीय कृषकको भनाई रहेको छ ।

मौसमी तरकारी खेतीको मूल्य कम हुने र बेमौसमि तरकारी खेतीको मूल्य बढी हुने भएपछि व्यावसायिक कृषक बेमौसमी तरकारी खेतीतर्फ आकर्षित हुँदै आएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख सिंहले बताउनुभयो ।

सुनसरीमा बर्षिक रुपमा मौसमी तथा बेमौसमी गरेर ८ हजार १३० हेक्टर क्षेत्रफलमा तरकारी खेती हुदै आएकोमा ९७ हजार मेट्रिकटन प्रति हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुदै आएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख सिंहले बताउनुभयो ।

 

Related Posts