सुनसरी प्रहरीले गाँजा तस्करी संलग्नमा ६० जना पक्राउ, १६ सय ९८ किलो ३४६ ग्राम गाँजा बरामद

भारतीयले चलाउँछन् गाँजा तस्करीको धन्दा उत्पादन भएकै स्थानमा प्रतिकिलो ३ हजारमा पाउने गाँजा भारतमा १५ हजार रुपैयाँ प्रतिकिलोसम्म विक्री हुने गरेको प्रहरीको दाबी ।
नसीम अन्सारी
इनरुवा,। जिल्ला प्रहरी कार्यालय सुनसरीले गाँजा तस्करीमा संलग्न रहेका ६० जनालाई पक्राउ गरेका छन् ।

पक्राउ परेकाहरुको साथबाट १६ सय ९८ किलो ३४६ ग्राम गाँजा बरामद बरामद गरेको छ भन्ने १६ वटा सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका १६ वटा सवारी साधनमध्ये २ वटा भारतीय कार, २ वटा स्कारपियो र २ वटा टाटासुमो रहेको छ । नेपालका सवारी साधन भने १० वटा छन् । पक्राउ परेका ६० जनामध्ये २१ जना भारतीय नागरिक रहेका छन् ।

सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार असोजदेखि यता सुनसरी प्रहरीले गाँजा तस्करीमा संलग्न रहेका ६० जनालाई पक्राउ गर्दा उनीहरूको साथबाट १६ सय ९८ किलो ३४६ ग्राम गाँजा बरामद गरेको हो ।

गत पुस २३ गते भारत तस्करी हुन लागेको झण्डै ३ सय किलो गाँजा सुनसरी प्रहरीले बरामद गरेको थियो । ८ वटा बोरामा रहेको गाँजासहित प्रहरीले त्यसबेला पनि भारतीय नागरिक अरविन्द कुमार र सुनसरीको कोशी गाउँपालिका ५ का महोमद सागर मियाँलाई पक्राउ परेको थियो ।

उनीहरुले उक्त गाँजा को २ त ६८९० नम्बरको ट्याक्टरमा लोड गरेर भारत लैजान लागेका थिए । सुनसरी प्रहरीका अनुसार भोजपुरबाट सप्तकोशी हुँदै ल्याएको गाँजा कोशी गाउँपालिका ६ कोशी कटान भन्ने ठाउँबाट ट्याक्टरको मुनिपट्टि गाँजा र माथि बालुवा भोरेर भारत लान लागेका थिए ।

यस्तै प्रहरीले फागुन १ गते सुनसरी बराहक्षेत्रनगरपालिका-९ राजाबास स्थित दाहसंस्कार गर्ने घाटनजिक कोशी किनारमा लुकाएको अवस्थामा १३ थान बोरामा जम्मा ४०६ किलो ९४० ग्राम गाँजा बरामद गरेको थियो ।

उक्त गाँजा प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको बोलेरो लोड गरि राखिएको थियो । प्रहरीले उक्त काममा संलग्न रहेको भन्दै धरान–४ का सूर्य राई र भोजपुर हतुवागढी–८ का लक्ष्मण राईलाई पक्राउ गरेको थियो ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार गाँजा उत्पादन भइरहेकै स्थानमा तस्करहरुले प्रतिकिलो ३ हजारदेखि ४ हजारसम्ममा खरिद गर्छन् ।

उक्त गाँजा धरानको चतरासम्म ल्याइपुर्याउँदा प्रतिकेजी ५ हजरदेखि ६ हजारसम्म पर्ने गरेको र नेपालको सीमा क्षेत्रमा प्रतिकिलो अन्दाजी १० हजार रुपैयाँसम्ममा विक्री हुने गरेको प्रहरी स्रोतको दाबी छ । यस्तै भारतमा भने नेपालको गाँजा प्रतिकिलो १५ हजार रुपैयाँभन्दा माथि मूल्यमा खरिद विक्री हुने गरेको छ ।

सुनसरी र धनकुटा प्रहरीले पछिल्लो समय गाँजा नियन्त्रण अभियान तीब्र बनाएका छन् । पहाडि जिल्ला उदयपुर, भोजपुर, खोटाङ, धनकुटा, संखुवासभा लगायतका जिल्लामा उत्पादित गाँजा सुनसरी, मोरङ र झापा हुँदै भारत तस्करी हुने गरेको छ । पछिल्लो पटक प्रहरीले सुनसरी र धनकुटाबाट ठूलो परिणाममा गाँजा नियन्त्रणमा लियो ।

प्रहरीले गत फागुन २ गते धनकुटाको भेडेटारबाट डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङकरमा लोड गरेको पाँच सय ९४ किलो गाँजा बरामद गर्यो । गाँजासँगै प्रहरीले गाँजासहित चार जनालाई पनि पक्राउ गर्यो ।

प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चौकमा मुलघाटबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७३२२ नम्बरको ट्याङकरमा गाँजा बरामद गरेको हो ।

ट्याङकरको तेल लगाउने डिब्बाभित्र गाँजा राखेको अवस्थामा थियो । प्रहरीले गाँजा ओसार–पसारमा संलग्न भारत अररियाका ४४ वर्षीय नईम खान, सह-चालक एमडि अफ्रोज, ट्याङकरमा सवार ७० वर्षीय लखन महत्तो र मोरङ रंगेलीका वर्षीय गयानन्द मण्डललाई पक्राउ गरेको छ ।

धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार उक्त ट्याङ्कर कसको हो भन्ने आधिकारिक खुल्न बाँकी छ । तर, पेट्रोलियम डिलर एसोसिएसनका मानिसहरू ट्याङ्कर छुटाउनुपर्ने भन्दै धनकुटाको प्रहरीसमक्ष डेलिगेसन गएका थिए ।

रोचक पक्ष के छ भने विराटनगरबाट सप्तरी पेट्रोलियम पदार्थ बोकेर गएको ट्याङ्कर इन्धन खन्याएर गाँजा लिन सिधै धनकुटा पुगेको थियो ।

‘सप्तरीतिर पेट्रोल पुर्याएर फर्केको ट्याङ्कर गाँजा लिनकै लागि धनकुटा आएको भने पुष्टि भयो,’ कोइरालाले भने, ‘साहुलाई ट्याङ्कर बिग्रिएर बनाउँदै गरेको भन्ने जानकारी दिएर चालकले धनुकटा लिएर आएको थाहा भयो ।

ट्याक्टरका साहुले भोलीपल्ट बिहान साहुले फोन गर्दा हामीले चालकलाई नै पक्राउ परिसकेका थिए । यो घटनाले साहु नै संलग्न भन्ने बुझिँदैन । चालक, सहचालकहरूको भने प्रत्यक्ष संलग्नता देखिन्छ ।’

योसँगै असोजयता मात्रै धनकुटाबाट ६ सय ५१ केजी बरामद भएको छ । अगाडि पनि विभिन्न विकल्प प्रयोग गरेर गाँजा तस्करी हुने गरेको थियो । प्रहरीले चेकजाँचमा कडाई गरेपछि भने विकल्पको खोजी गर्दै ट्याङ्करसमेत प्रयोग गरेको कोइराला बताउँछन् ।

‘बरामद गाँजा कहाँ उत्पादन भएको भन्ने कुरा खुलेको छैन । तर, पक्राउ परेकाहरुले रातको समयमा हामीलाई नै थाहा छैन भन्ने कुरा भनेका छन्,’ कोइरालाले भने ।

Related Posts