मोरङमा सशस्त्र प्रहरीका डीएसपी झुण्डिएको अवस्थामा मृत फेला

सुनसरी,। मोरङमा सशस्त्र प्रहरी बलका एक नायब उपरीक्षक (डिएसपी) झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। पाल्‍पा स्थायी घर भइ सशस्त्रमा कार्यरत ३८ वर्षीय उपेन्द्र बस्याल मृत अवस्थामा फेला परेका हुन्।

सोमबार दिउँसो डिएसपी बस्याल कार्यालयभित्रै ‘सिलिङ फ्यान’मा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनी धनपालथान गाउँपालिका-३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्ज हुन्।

डिएसपी बस्याललाई केहीबेरअघि कार्यालयभित्रै मृत फेला पारिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी चन्द्र कुवेर खापुङले जानकारी दिए।

उनको मृत्युको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीले जनाएको छ। अनुसन्धानका लागि नेपाल प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ।

कार्यालयभित्र डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले बताए ।

बाहिर झ्यालबाट हेर्दा झुण्डिएको देखिन्छ तर कोठा भित्र प्रहरी टोली प्रवेश गरेको छैन, उनले भने, परिवारका सदस्यलाई बोलाएका छौ, उहाँहरु आएपछि मात्रै भित्र पस्छौं । बस्यालको मृत्युको कारण भने खुलेको छैन ।

 

Related Posts