बर्जुमा सशस्त्र प्रहरीको बिओपी उद्घाटन

इनरुवा,। सुनसरीको दक्षिणी सिमावर्ती पालिका बर्जु गाउँपालिका-४ मा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्टको बुधबार उद्घाटन गरिएको छ ।

कोरोना महामारीको समयमा हर्बोनीमा स्थापना भएको फरवार्ड वेशलाई सशस्त्र प्रहरी बलले बिओपीको रुपमा सञ्चालनमा ल्याएको हो ।

बर्जु गाउँपालिका ४ मा स्थापना भएको उक्त बिओपीको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय पकलीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेलले उद्घाटन गर्नुभयो ।

बर्जु गाउँपालिकाका अध्यक्ष जिवछकुमार राय, सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य र कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग लगायतको उपस्थितिमा हर्बोनी बिओपीको उद्घाटन गरिएको हो ।

सशस्त्र प्रहरी बलले बिराटनगरका रोमी शर्मा जैनले उपलब्ध गराएको ४ कट्ठा र बर्जु गाउँपालिकाले उपलब्ध गराएको २ कट्ठा गरी ६ कट्ठा क्षेत्रफलमा बिओपी निर्माण गरेको छ ।

सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रण सँगै सीमा अपराध नियन्त्रण लगायतका क्षेत्रमा काम गर्दै आएको बराह बाहिनीका बाहिनीपति पोखरेलले बताउनुभयो ।

संगठनका नीति अनुसार पहाडी भेगको जनशक्ति कटौती गरी सीमा क्षेत्रमा परिचालन गरिदै आएको उहाँले बताउनुभयो । उद्घाटन भई कार्य सञ्चालनमा आएको सो बिओपीले ३ दशमलव ९ कि.मि क्षेत्र भित्रको ५१ वटा सीमा स्तम्भको रेखदेख, सुरक्षा र सीमा अपराध नियन्त्रण जस्ता कार्य गर्ने सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीका प्रमुख एसपी समेनन्द बज्राचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा जग्गादाता सहितकालाई सम्मान समेत गरिएको थियो ।

हर्बोनीमा बिओपी उद्घाटन भएसँगै सुनसरीमा सशस्त्र प्रहरीको बिओपी संख्या ९ पुगेको छ । नम्बर ४ गण हेड क्वाटर सुनसरीका अनुसार जिल्लामा ६ वटा वेश, २ वटा प्रस्तावित गुल्म र ९ बिओपी रहेका छन् ।

 

Related Posts