विराटनगर,। बिराटनगरमा गत शुक्रबार मृत फेला परेकी स्टाफ नर्सको हत्यामा संलग्न रहेको आशङ्का गरेका प्रेमी युवा होटलमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
विराटनगरका युवा शिवशंकर दास विराटनगरको फाइन होटलमा मृत फेला परेको मोरङ प्रहरीले जनाएको छ। उनी होटलको रुममा झुन्डिएको अवस्थामा फेला परेको मोरङका प्रहरी प्रमुख नवराज कार्कीले बताए ।
गत शुक्रबार विराटनगर महानगरपालिका-४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको थियो । सिराहाको फुल्काहकट्टी घर भएकी दास विराटनगर९ ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् ।
डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।
उनको हत्यापछि शव छाडेर संलग्न व्यक्ति फरार भएको र संलग्न व्यक्तिको खोजी जारी रहेको प्रहरीले बताउँदै आएको थियो । प्रहरीले दासको प्रेमी रहेका शिव शङ्करले नै हत्या गरेको हुनसक्ने आशङ्का गरेको थियो ।
उनले प्रेमिकाको हत्यापछि आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।