नर्सको हत्यापछि प्रेमी शिवशंकरले फाइन होटलमा गरे आत्महत्या

विराटनगर,। विराटनगर-४ स्थित नोबल टिचिङ्ग अस्पतालको अर्थो बिभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्यामा संलग्न प्रेमी २२ वर्षीय शिवशंकर दास आत्महत्या गरेको अवस्थामा मृत भेटिएका छन् ।

विराटनगर-४ नोबल हस्पिटल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आज राती मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर-४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडीदेखि कोठामा बस्दै आएकी थिइन् ।

उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठा भित्र बाथरुममा शव भेटिएको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको थियो ।

चन्द्रिका कुमारीको हत्या उनकै प्रेमी शिवशंकरले गरेर फरार भएपछि उनको खोजी कार्यमा प्रहरी लागि परेको थियो । फरार रहेका शिवशंकरको खोजी गर्ने क्रममा आत्महत्या गरेको अवस्थामा भेटिएको एसपी कार्कीले बताए ।

‘हत्यामा संलग्नको पहिचान भएपछि खोजी कार्यलाई हामीले तिव्र बनाएका थियौ । हामीले प्राविधिक रुपमा पनि अनुसन्धान गर्दै आएका थियौं । तेही क्रममा आज दिउँसो विराटनगरको कन्चनबारीतिर शिशवंकरले प्रयोग गर्ने फोनको लोकेसन देखाएको थियो ।

ट्याक गर्दै खोजी गर्ने क्रममा होटल फाइनमा प्रहरी टोली पुगेको थियो । एउटा होटलको ढोका खुलेन । त्यसपछि ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा शव भेटिएको छ,’ एसपी कार्कीले भने ।

शिवशंकरले आत्महत्या गरेको होटल नर्स चिन्द्रका कुमारीको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा पर्दछ ।
शिवशंकर र चिन्द्रिका कुमारीको चार वर्षदेखि प्रेमसम्बन्धमा थिए ।

शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । उनी वैदेशिक रोजगारमा गएपछि यता चन्द्रिका कुमारीको सिएमए सिराहाका अमिन धानुकसँग प्रेम सम्बन्ध बसेको थियो ।

‘चन्द्रिकाकुमारीले प्रेममा धोका दिनेभएपछि हत्या गरेको देखिन्छ,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘चन्द्रिकाको हत्या गरे । अब म पनि आत्महत्या गर्छु भनेर शिवशंकरले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको पनि रहेछन् ।’

शिवशंकर २७ फागुनमा मेलेसियाबाट काठमाण्डौं फर्किएका थिए । उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ । विराटनगर आएपछि उनी प्रेमी चन्द्रिकाकुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ ।

प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा किचनमा प्रयोग हुने कटर प्रयोग भएको छ । उक्त कटर प्रहरीले बरामद गरेको छ ।

हत्यापछि शिवशंकर दुई दिन कता गए त्यो अनुस्न्धान भइरहेको एसपी कार्कीले बताए । आत्महत्या गरेका शिवशंकरको शवको सनखात उनका दाजुले गरिदिएका छन् । अहिले घटना मुचुल्का उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

याे पनि:- बिराटनगरमा नर्स हत्यामा संलग्न प्रेमी होटलमा झुन्डिएको अवस्थामा मृत फेला

Discussion about this post

No comments to show.

Related Posts