धरान हत्या प्रकरण: सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उनकै प्रेमी पक्राउ

सुनसरी,। धरान उपमहानगरपालिका १६ की २१ वर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै प्रेमीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

शुक्रबार इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलनमार्फत घटनामा संलग्नलाई सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार पक्राउ पर्नेमा धरान १६ का १९ वर्षीय सविन भनिने बाबुराम भुजेल रहेका छन् ।

उनलाई शुक्रबार जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

‘घटनास्थलमा उनीहरूबीच फेसबुक प्रयोगको विषयलाई लिएर विवाद भएपछि युवकले योजना अनुसार नै खुकुरी लिएर गएका थिए,’ एसपी रेग्मीले भने, ‘सोही खुकुरीले घाँटी रेटेर हत्या गरी खोल्सामा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

भुजेललाई प्रहरीले धनकुटा नगरपालिका वडा नं-९ स्थित मुलघाटमा लुकिछिपी रहेको अवस्थामा बिहीबार दिउँसो पक्राउ गरेको थियो । उनको साथबाट सुमनाले प्रयोग गर्ने मोबाइल पनि बरामद गरेको छ ।

बुधबार दिउँसो सुमनाको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलको बीचमा रहेको खोल्सामा फेला परेको थियो ।
सुमना अर्कै केटासँग नजिकिएको पत्ता लागेपछि हत्या गर्ने नियतले नै बाबुरामले खुकुरी बोकेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी रेग्मीले बताए ।

उनका अनुसार उनीहरूबीच २ वर्षदेखि फेसबुकमार्फत प्रेम सम्बन्ध रहेको थियो । तर, गत पुसमा भने सुमनाले ग्लोबल ओरियन्स धरानमा काम गर्न थालेपछिसोही कम्पनीमा काम गर्ने प्रदीप श्रेष्ठसँग उनी नजिकिएकी थिइन् ।

सोही कुरा थाहा पाएका बाबुराम भुजेल र सुमनाबीच विवाद बढ्दै गएको थियो । चैत २ गतेदेखि भुजेल काम गर्न धनकुटाको मुलघाटमा गएका थिए । त्यसपछि प्रेम सम्बन्धमा झनै खटपट बढेको र प्रेममा खटपटपछि चैत ६ गते सुमनालाई भेट्न बाबुराम धरान आएका थिए ।

साँझदेखि नै भेटघाट गरी भुजेलले आफ्नो स्कुटरमा सुमनालाई राखी स्कुटर चलाउन सिकाउँदै रातको ९ बजेको समयमा हत्या भएको स्थानमा दुवै जना पुगेको प्रहरीको निष्कर्ष छ ।

घटनामा संलग्न रहेको आशंकामा अन्य पाँचजनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, बाबुराम मुख्य दोषी रहेकाले उनलाई सार्वजनिक गरिएको प्रहरीको भनाइ छ ।

याे पनि:-धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हत्या भएको अवस्थामा शव फेला

Related Posts