इनरुवा, २२ असार । आज बिहानै देखि पूर्वी पहाडि तथा पूर्वी तराईका जिल्लामा भएको बर्षाका कारणले सप्तकोसी नदीमा कोसी व्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ ।
सप्तकोसी नदीमा आज साझ पछिल्लो समयका गरेको पानीको मापन अनुसार कोसी ब्यारेजको कन्ट्रोल रुम भएर ३ लाख ३ हजार ८६० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
अहिले ब्यारेजको ३९ वटा ढोका खोलिएको छ । शनिबार बिहान ४ बजेको मापन अनुसार १ लाख २४ हजार ४६५ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरेको थियो ।
दिउसो १ बजे कोसी व्यारेजको कन्ट्रोल रुम भएर २ लाख ४४ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको थियो भने साझ ५ बजे गरेको मापन अनुसार २ लाख ८२ हजार ६८० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन गरिएको थियो ।
आज कोसीमा उच्च पानीको बहाव मापन गरिएको छ । पहाडी क्षेत्रमा वर्षा भएसँगै कोसी नदीमा पानीको बहाव उच्च भएको छ । कोसीमा पानीको बहाव उच्च भएपनि कोसीले पूर्वी तटबन्धमा कुनै क्षति नगरेको सुनसरीका प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।
राजावास, प्रकाशपुर, मधुवन लगायतका पूर्वी तटबन्धमा खतरा नरहेको उहाँले जानकारी दिनुभयो । लगतार कोसी व्यारेज भएर पानीको बहाव बढ्दै गएपछि कोसी व्यारेजमा सुरक्षा निगरानी बढाएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो ।