सुनसरीमा चौठचन्द्र पर्व लक्षित माटोको भाँडा कारोवारमा बृद्धि

अजितकुमार झा
इनरुवा,। सुनसरी सदरमुकाम इनरुवा-२ की सेवकी देवी पण्डीतले चौठचन्द्र पर्वलाई लक्षित गरेर माटोको भाँडा बिक्री गर्नुभयो ।

गत बर्षको तुलनामा यस बर्ष चौठचन्द्र पर्वमा माटोकोभाडाको कारोवारमा बृद्धि भएको उहाँको भनाई रहेको छ । उहाँले अन्य दिनको तुलनामा चौठचन्द्र (चौरचन) पर्वमा बढी माटोको भाँडाको बिक्री हुने बताउनुभयो ।

उहाँकै कुरालाई जोड दिनुहुन्छ इनरुवा–१ का उपेन्द्र पण्डित । उहाँले पनि सेवकीको जस्तै अन्य दिनको तुलनामा चौठचन्द्र पर्वमा माटोको भाँडाको बिक्री बढी गरेको बताउनुभयो ।

चौठचन्द्र (चौरचन) पर्व मनाउनेको संख्या बार्षिक रुपमा बढ्दै गएको र यो पर्वमा माटोको हातले निर्मित प्राकृतिक भाडा काम नलाग्ने भएकाले हातले निर्मित माटोको भाडाको कारोवारमा बृद्धि भएको उहाँको भनाई रहेको छ ।

सुनसरी सहित तराई मधेश क्षेत्रमा मनाउने यो पर्वको पूर्वसन्ध्यामा अहिले माटोको भाँडा बिक्री गर्ने क्रम बढेको छ । वर्षभरि माटोका भाँडा बेच्न नसकेका कुम्भकार समुदायका मानिस चौठचन्द्रलाई माटोका भाँडा बेच्ने अवसरका रूपमा लिने गरेको स्थानीय व्यापारी फुलचन पण्डितले बताउनुभयो ।

यो पर्वमा माटोको भाँडा आवश्यक पर्छ । त्यसैले सुनसरी जिल्ला सहित तराई मधेश क्षेत्रमा माटोको भाँडाकोे कारोबार बढेको र यसको मूल्य समेत बढेको उपभोक्ता नविता झाले बताउनुभयो ।

देशभरि नै मैथिल समुदायले शुक्रबार मनाउने चौठचन्द्र पर्वका लागि हटिया तथा बजारमा छाछ, छाछी, घैला, दियो, लाबैन लगायतका माटोका भाँडाकोे किनबेच गर्ने गर्छन् । सुनसरीमा मात्रै थारु, मधेशी, उराँव, जनजाति लगायतका ८० हजारभन्दा बढी परिवारले चौठिचन्द पर्व मनाउँदै आएका छन ।

पुख्र्यौली पेशा माटोको भाँडा बनाउने भएपनि माटो, दाउराको अभाव, सरकारको उदासीनताका कारण पेसा नै सङकटमा परेकाले पेशालाई संरक्षण गर्नका लागि सरकारको पनि ध्यान जान जरुरी रहेको कुम्भकार समुदायका अगुवा ज्ञानदेव पण्डितले बताउनुभयो ।

त्यसैगरी यो पर्वका बेलामा अन्य पर्व लक्षित सामग्रीको समेत व्यवसाय बढेको छ । पर्वका बेलामा आवश्यक पर्ने स्याउ, नरिवल, भोगटे, केरा लगायतका फलफुलको कारोबार बढेको स्थानीय व्यापारी बताउँछन् ।

Related Posts