सुनसरी,। कोशी प्रदेश सरकारले सशस्त्र प्रहरी बल बराह बाहिनी मुख्यालय इटहरीलाई विपद् नियन्त्रण कालागि विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार एक कार्यक्रमबीच आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सशस्त्र प्रहरी बलका डिआइजी शम्भु सुवेदीलाई सामाग्री हस्तान्तरण गरे ।
प्रदेश सरकारले उपलब्ध गराएको सामाग्रीहरूमा आगो नियन्त्रण गर्ने उपकरणहरू रहेका छन् । सशस्त्र प्रहरी बललाई उपलब्ध गराएको सामाग्रीको मूल्य करिब १७ लाख बराबरको रहेको मन्त्रालयका निमित्त सचिव कमल थापाले जानकारी दिए ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले विपद् नियन्त्रण कालागि जनताको सहयोग र सहकार्य आवश्यक हुने बताए । नीतिगत रूपमा विपद् व्यवस्थापनका कामहरू भएपनि व्यवहारिक रूपमा काम कार्यान्वयन नहुँदा जटिलता हुने गरेको उनको भनाइ छ ।
‘असारमा बाढी आउँछ त्यही बेला विपद् नियन्त्रणको काम गर्छौ, फागुन चैतमा आगलागी हुने मौसम सुरु हुन्छ’ उनले भने, ‘त्यही बेला आगो नियन्त्रणको लागि काम गर्छौ, यस्तो परिपाटी अन्त्य हुनुपर्छ । विपद् नियन्त्रण कालागि तिनै तहको सरकारहरूसँग समन्वय गरेर प्रविधिमा आधारित विपद् नियन्त्रणको काम गर्नुपर्नेमा उनले जोड दिए ।
विपद् पूर्वतयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने उल्लेख गर्दै कार्कीले पूर्वतयारीबाट दुर्गम स्थानमा विपद्बाट हुने घटना नियन्त्रण गर्न सहयोग पुग्नुका साथै जनधनको क्षति रोक्न सकिने बताए ।
बाढीपहिरो आउने स्थानमा स्थानीय पालिकासँगको सहकार्य र सहयोगमा आगामी जेठ अगाडि बस्ती सार्ने योजना बनाइएको उनले जानकारी दिए ।
जाडोयाममा तराईमा शीतलहर आउनेसक्ने भन्दै शीतलहरबाट आमनागरिकलाई बचाउन आवश्यक तयारी गर्न मन्त्रालयलाई मुख्यमन्त्री कार्कीले निर्देशन दिए । सडक दुर्घटनाबाट ठूलो मानवीय एवं भौतिक क्षति भइरहेकाले यसलाई नियन्त्रण गर्न तीन तहका सरकारको समन्वय हुनुपर्नेमा उनको जोड छ ।
प्रदेश सरकारले चालु वर्षमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई एक करोड ५० लाखका दरले विभिन्न विपद् व्यवस्थानका सामग्री उपलब्ध गराउने जनाएको छ ।