भारतीय पर्यटक नेपाल आउँदा अनावश्यक चेकजाँच समस्यालाई हटाइन्छ: मुख्यमन्त्री कार्की

इनरुवा,। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतीय पर्यटकहरूलाई नेपाल आउँदा अब कुनै समस्याहरू भोग्नु पर्दैन यदि कुनै कारणवस त्यस्तो असुविधा भएमा हटाइने बताएका छन् ।

सुनसरीको कोशी टप्पुमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा आउँदा भारतीय पर्यटकलाई गरिने अनावश्यक चेकजाँच र नोट सटहीको समस्यालाई हटाउन दुई पक्षबाटै पहल गरिने बताएका हुन् ।

कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष मनाउने तयारी गरिरहेको बताउँदै उनले भारतको बिहार, पश्चिम बंगाल लगायतका पर्यटकलाई नेपाल भित्र्याउनका लागि आवश्यक समन्वय र सजीकरण गर्ने बताए ।

कोशी पर्यटन वर्षको मूल आयोजक समितिको आज कोशी टपुमा बसेको बैठकपछि भारतीय पत्रकारहरूसँगसमेत उनले कुराकानी गरेका थिए ।

उक्त अवसरमा मुख्यमन्त्री कार्कीले भारत–नेपालबीचको अत्यन्तै राम्रो सम्बन्ध रहेको र यो सम्बन्धको आधारमा नेपालको पर्यटन प्रवर्धन गर्न सकिने विचार व्यक्त गरे ।

कार्कीले भने, ‘कोशी प्रदेशको विकास र समृद्धिको मुख्य आधार नै पर्यटन हो ।’ मूल आयोजक समितिको बैठकले कोशी प्रदेशका लागि आगामी वर्ष गरिने कामको रणनीति पास गरिएको थियो ।

कोशी प्रदेश सरकारले आगामी वैशाख १ गते तेह्रथुमको मिल्के जलजले क्षेत्रमा पर्यटन वर्षको उद्घाटनका लागि कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठनसमेत गरेको छ ।

Related Posts