हरिनगरमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप अभियान सुरु

नसीम अन्सारी
भुटाहा,। नेपालभर पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. खोप अभियान सुरु भएसँगै हरिनगरमा पनि एच.पि.भी. खोप अभियानको शुभारम्म गरिएको हो ।

हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी र उपाध्यक्ष रिमझिम कुमारी भगतले हरिनगर-४ स्थित आधारभुत विद्यालयको खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर संयुक्त रुपमा अभियान सुरु गरेका थिए ।

हरिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रकाश थापा मगरका अनुसार कक्षा-६ देखि कक्षा-१० सम्ममा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १०-१४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिइने छ ।

माघ २२ गतेदेखि सुरुभएको अभियान फागुन ६ गतेसम्म चल्ने अभियानमा १० हजार भन्दा बढी किशोरीलाई खोप दिने लक्ष्य रहेको स्वास्थ्य प्रमुख थापा मगरले जानकारी दिएको छ।

सुनसरी जिल्लाका १२ वटै स्थानीय तहमा एकसाथ अभियान सुरु गरिएको उनले बताए । हरिनगर गाउँपालिकामा एच.पि.भी. खोप अभियानको लागि ७ वटै वडामा रहेका स्वास्थ्य कार्यालय र कक्षा-६ देखि १० कक्षासम्म रहेका विद्यालयलाई खोप केन्द्र बनाइएको छ ।

त्यसैगरी हरिनगर गाउँपालिकामा एच.पि.भी. खोप अभियानको लागि प्रत्येक स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मी र स्वयम्सेविका खटिएका छन् ।

अभियानको शुभारम्भ गर्दै हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले एच.पि.भी. खोप अभियानलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

उनले स्वास्थ्यकर्मी, जनप्रतिनिधि, अभिभावक र नागरिक अगुवाहरूलाई खोपको फाइदाबारे जनचेतना फैलाउन भूमिका खेल्न आग्रह समेत गरेका छन् ।

अध्यक्ष अन्सारीले विद्यालयमा अध्ययन गर्ने छात्राहरूलाई खोप केन्द्रमै पुगेर खोप लगाइने तथा विद्यालयबाहिर रहेका किशोरीहरूलाई फागुन ६ गतेसम्म आ-आफ्नो नजिकै रहेको स्वास्थ्य कार्यालय वा खोप केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गरेका छन् ।

फागुन ६ गतेसम्म यो अभियान सञ्चालन हुने छ । खोप नि:शुल्क र सुरक्षित तथा प्रभावकारी भएकाले ढुक्क भएर लगाउन अनुरोध गरेको छ ।

Related Posts