इनरुवा,। सुनसरीको देवानगंज गाउँपालिका-१ मध्यहर्षाहीबाट २ सय ९६ केजी गाँजासहित भारती स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार विहान नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय एचआर. ७० इ. ९५०२ नम्बरको स्कारपियोमा २ सय ९६ केजी गाँजा बरामद गरेको हो ।
गाँजा ओसारपसारका लागि प्रयोग गरिएको स्कारपियो चिमडी क्षेत्रबाट तीव्र गतिमा भाग्ने क्रममा चिमडी स्कुल अगाडि रहेको प्रहरी ब्यारेकमा ठोक्किएर अनियन्त्रित हुन पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
श्रोतका असुनार उक्त स्कारपियोमाथी शंका लागेपछि इलाका प्रहरी कार्यालय चिमडीले गाडीलाई पछ्याउँदा करिब ३ किलोमिटर पर मात्रै नियन्त्रणमा लिएको थियो।
गाडी खाल्डोमा पुगेपछि गाँजा तस्करहरू भाग्न सफल भएका थिए। अनुसन्धानका क्रममा प्रहरीले एउटा बजाजको टु-ट्वाइन्टी मोटरसाइकल पनि बरामद गरेको छ, जसलाई स्कटिङका लागि प्रयोग गरिँदै आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले जानकारी दिनुभयो।
इलाका प्रहरी कार्यालय देवानगञ्ज, इलाका प्रहरी कार्यालय हरिनगरा, इलाका प्रहरी कार्यालय चिमडी, प्रहरी चौकी घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले सफलतापूर्वक गाँजा बरामद गरेको थियो । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।