कर्णालीले कोशीलाई ९१ रनमा अलआउट गर्दै निकाल्यो दोस्रो जित

काठमाडौं,। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो जित दर्ता गराएको छ।

मंगलबार रुपन्देहीको एक्स्ट्राटेक ओभलमा भएको खेलमा कर्णालीले कोशी प्रदेशमाथि १२७ रनको जित निकाल्यो। जारी प्रतियोगितामा कर्णालीले ५ खेलमा २ जित निकाल्दा कोशी भने ६ मध्ये ५ खेलमा पराजित भइसकेको छ।

मंगलबार कर्णालीले दिएको २१९ रनको लक्ष्य पछ्याएको कोशी ९१ रनमा अलआउट भयो। कोशीका लागि ओपनर चिराग साहले सबैभन्दा बढी २५ रन बनाए।

बलिङमा कर्णालीका सुनील धमला र दीपेन्द्र रावतले ३-३ विकेट लिए। दिवान पुनको नाममा २ विकेट रह्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले अर्जुन घर्तीको नटआउट ८८ रनको मद्दतमा ९ विकेटको २१८ रन बनायो। प्लेयर अफ दि म्याच अर्जुनले ९५ बलमा ११ चौका र २ छक्का प्रहार गरे।

कर्णालीका लागि हिमांशु शाहीले जोडेको ४६ रन पनि महत्वपूर्ण सावित भयो। बलिङमा कोशीका बिपिन महतोले ३ विकेट लिँदा दिपेश कँडेल र प्रकास कार्कीले २-२ विकेट हात पारे।

Related Posts