सुनसरी,। नेपाली कांग्रेसका युवा नेता डा. अबुल हुसैन अन्सारीले मुस्लिम विद्यार्थीहरुको परीक्षा ईद पर्व (ईद उल–फित्र) का दिन परेकाले सार्न माग गरेका छन् ।
शुक्रबार डा. अन्सारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र बुझाएर ईद पर्वका दिन परेका एसईई परीक्षाहरू अर्को दिन सार्ने लागि माग गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक तहको दोस्रो सेमेस्टरको अन्तिम परीक्षा ईदको दिन परेको छ । त्यसलाई सार्न माग गरिएको हो ।
मुस्लिम समुदायले मनाउने ईद उल-फित्र पर्व चैत १८ वा १९ गते पर्ने डा. अन्सारीले बताएका छन् । मुस्लिम समुदायका विद्यार्थीलाई समस्या पर्ने भएकाले परीक्षा सार्नुपर्ने डा।अन्सारीले बताए ।
नेपाल सरकारले गत २०८० माघ २९ मा राजपत्रमा प्रकाशित गरेको २०८१ सालका सार्वजनिक बिदामा ईद पर्व पनि परेको छ । त्यसदिन देशभर सार्वजनिक बिदा हुन्छ ।
शैक्षिक संस्थाले सार्वजनिक बिदा हुने गरेको ईदका दिनमा पनि परीक्षा राखेका छन् । ज्ञापनपत्र बुझ्दै शिक्षामन्त्री भट्टराईले परीक्षा सार्न पहल गर्ने बताइन् ।