मुस्लिम समुदायको सांस्कृतिक धरोहरहरूको संरक्षणका लागि मन्त्रालयसँग बजेटको माग

सुनसरी,। सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर-४ घर भएका युवा नेता डा. अबुल हुसैन अन्सारीले पछिल्लो समय समुदायको लागि निकै सक्रिय रहेको छ।

हाल काठमाडौंमा बसोबास गर्दै आईरहेका नेपाली काँग्रेसका युवा नेता अन्सारीले गत वर्ष मुस्लिम समुदायको ईद उल फितर (ईद) र ईद उल अजहा (बकर ईद) पर्वमा ईद मुबारक रिंगटोन बजाउन नेपाल टेलिकम र एनसेलको कार्यालयमा ज्ञापनपत्र वुझाएर आफ्नो भ्वाइसमा ईद मुबारक रेकर्ड गराएर देश तथा विदेशमा ईदको दिन ईद मुबारक सुनाउन सफल भएको छ।

अन्सारीले पुनः बिहीबार मन्त्रालय पुगेर मुस्लिम समुदायको सांस्कृतिक धरोहर संरक्षणका लागि बजेट व्यवस्था गरिदिन मन्त्रीलाई सुझावसहित बजेटको माग भएको छ।

नेपाली कांग्रेसका युवा नेता अबुल हुसैन अन्सारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेर मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर मुस्लिम समुदायको सांस्कृतिक धरोहर संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘नेपाल सरकारले मुस्लिम समुदायको सांकृतिक धरोहरहरूको संरक्षण र सम्बर्द्धन गर्ने विषय शीर्षकहरूमा प्राथमिकताका साथ बजेट विनियोजन गर्न हामी मुस्लिम समुदाय माग गर्दछौं,’ मन्त्री पाण्डेलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ।

मुस्लिम समुदायको धार्मिक, सांकृतिक र शैक्षिक धरोहरको रूपमा मस्जिद, मदरसा, ईदगाह, कब्रिस्तान (समाधि स्थल) कर्बला, मजार र मुसाफिरखानाहरू प्रायः हरेक मुस्लिम बस्तिमा रहेका छन्।

सामुदायिक स्तरमा निर्माण भएको धार्मिक, सांकृतिक र शैक्षिक धरोहरको जगेर्ना गर्न समुदाय यथासम्भव प्रयास गर्दै आएको छ।

मुस्लिम समुदायमा रहेको सांस्कृतिक धरोहरहरूको संरक्षण एवं प्रवर्धन गर्न सरकारले उचित ध्यानाकर्षण नदिएको समुदायमा गुनासो बढ्दै गएको पनि ज्ञापन पत्रमा उल्लेख छ।

आवश्यक ध्यान र संरक्षणको कमीको कारण मुस्लिम समुदायमा रहेको सांकृतिक धरोहरहरू जीर्ण अवस्थामा पुग्दै गएको, भौतिक संरचनाहरू भत्किँदै गएको, बिचौलियाहरूको कुदृस्टी परिरहेको, जग्गाको अनधिकृत कब्जा हुँदै गएको, कब्रिस्तान कर्बलाहरूको जग्गा कटान हुँदै गएको र त्यसको प्रचार प्रसारमा कमी हुँदै गएको पनि विज्ञप्तिमा उल्लेख छ।

२०७२ को भूकम्पमा मुस्लिम समुदायको सांस्कृतिक धरोहरहरूको पनि ठूलो क्षति हुन पुगेको र ती धरोहरहरूको मर्मत गर्न सरकारको उचित ध्यान नदिएको पनि मुस्लिम समुदायहरूको भनाइ रहेका छन् ।

 

Related Posts