हरिनगरबाट कटुवा पेस्तोलसहित १ जना पक्राउ

इनरुवा,। सुनसरीको हरिनगरबाट कटुवा पेस्तोलसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हरिनगरा गाउँपालिका-७ का २५ वर्षीय सजाद अन्सारीलाई पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार अन्सारीलाई बिहीबार दिउँसो ३ः३० बजेतिर पक्राउ गरिएको हो ।

अन्सारीसँग स्थानीय सारिक जटको विवाद भएको थियो । विवादका क्रममा अन्सारीले पेस्तोल देखाएर जटलाई तर्साउन खोजेको पाइएको डीएसपी खतिवडाले बताए । उनका अनुसार २ जनाको विवाद हुँदा पेस्तोल निकालेको जानकारी प्राप्त हुनसाथ अन्सारीलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो ।

अन्सारीलाई पक्राउ गर्न प्रहरी चौकी घुस्की, जिल्ला प्रहरी कार्यालय सुनसरी र सशस्त्र प्रहरी बल बीओपी घुस्कीको टोली परिचालन भएको थियो । उनलाई स्थानीयको सहयोगमा कटुवा पेस्तोलसहित पक्राउ गरिएको खतिवडाले बताए ।

पक्राउ परेका अन्सारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । उनीविरुद्ध हातहतियार खरखजना मुद्दा चलाउने प्रहरीको तयारी छ ।

उनले पेस्तोल कहाँबाट ल्याएका हुन् र २ जनाबीचको विवाद के थियो भन्ने बारेमा खुल्न बाँकी छ । थप अनुसन्धान भइरहेको जानकारी डीएसपी खतिवडाले बताए ।

 

Related Posts