भुटाहामा ईदको तयारी पुरा, शनिबार बिहान ७ बजे ईद-उल अजहाको नमाज हुने

नसीम अन्सारी
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका-१ स्थित भुटाहामा रहेको ईदगाहमा ईदउल अजहा (बकर ईद) को नमाज पढ्ने तयारी पुरा भएको छ।

यस वर्ष भुटाहा ईदगाहमा ईदउल अजहा (बकर ईद) को नमाज बिहान ७ बजे हुने ईदगाह समितिका उपाध्यक्ष सेराज फलाहीले बताएको हो। फलाहीका अनुसार इस्लाम धर्मावलम्वीहरुले शनिबार ‘ईद(उल अजहा’ (बकर ईद) भुटाहासहित देशभर मनाउने छन् ।

मुस्लिम समुदायले ‘ईद-उल अजहा’ को नमाज सामूहिक भेला भई मस्जिद, इदगाहमा पढ्ने गर्छन । ईदको नमाज पढेपछि एकअर्कालाई अङ्कमाल गर्दै खुशी साटासाट गरी घरमा पुगेर कुर्वानी गर्न गरिन्छ ।

कुर्वानी गरिएको मासुलाई तीन ठाउँमा भागबण्डा गरि एक ठाउँको मासु आफू राखिन्छ भने एक ठाउँको मासु गाउँका गरिब विपन्नलाई बाडिन्छ र बाँकी एक भागको मासुलाई आफ्नो नजिकका नातागोतालाई पठाउने गरिन्छ ।

मुस्लिम समुदायका लागि दुईवटा पर्व मुख्य रुपमा प्रचलनमा रहेको छ । समुदायमा ईदुल फित्र मुख्य पर्वका रुपमा रहेको छ भने ईदुल अजहा अर्को महत्वपूर्ण पर्वका रुपमा मनाउने गरिएको छ ।

सामान्य बोलीचालीको भाषामा ईदुल अजहालाई बकर ईद पर्व पनि भन्ने गरिन्छ । दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौं महिना रमजानका २९ वा ३० दिन रोजा राखेको खुसियालीमा मनाइन्छ भने दोस्रो पर्व ईदुल अजहा धर्म रक्षाका लागि पूर्वजहरुले गरेको बलिदानको सम्झनास्वरुप मनाउने गरिन्छ । यसलाई कुर्बानीको पर्व पनि भनिन्छ ।

मुस्लिम समुदायको दोस्रो ठूलो पर्व हो बकर ईद । शनिबारदेखि इस्लाम धर्मावलम्बीहरुले बकर ईद ईद-उल अजहा मनाउने र तीन दिनसम्म मनाउने गरिन्छ ।

फलाहीका अनुसार नवाज, हज र कुर्वानी अनिवार्य मानिने इस्लामका पाँच आधारस्तम्भ आस्था, नवाज, हज, रोजा र जकातममध्ये हजलाई मुख्य मानिन्छ ।

Related Posts