लिजा रिपोर्ट: हरिनगर गाउँपालिकाको नतिजा संतोषजनक

भुटाहा,। स्थानीय तहको कार्यसम्पादन स्वमूल्याङ्कनमा सुनसरीको हरिनगर गाउँपालिका जिल्लाको १२ वटा पालिका मध्ये ६औं स्थान रहेको छ ।

सङ्घीय मामिला मन्त्रालयले सार्वजनिक गरेको रिपोर्ट अनुसार हरिनगरले ७३ अङ्क ल्याउँदै जिल्लाका १२ पालिकामध्ये ६औं स्थानमा हो ।

हरिनगरले सेवा प्रवाह, वित्तीय व्यवस्थापन र शासकीय प्रबन्ध जस्ता महत्त्वपूर्ण सूचकहरूमा आफूलाई अब्बल साबित गरेको छ ।

हरिनगरले शासकीय प्रबन्धमा ८ अङ्क पाएको छ भने सङ्गठन तथा प्रशासनमा ७ अङ्क पाएको छ । वार्षिक बजेट तथा योजना तर्जुमामा ६ अङ्क, वित्तीय एवं आर्थिक व्यवस्थापनमा १०.५० सेवा प्रवाहमा ११, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ८, सामाजिक समावेशीकरणमा ७.५०, वातावरण संरक्षणमा ४.५० र सहकार्य तथा समन्वयमा ३.५० अङ्क पाएको छ ।

यही रिपोर्टको आधारमा स्थानीय तहलाई वितरण गरिने वित्तीय समानीकरण अनुदान निर्धारण हुन्छ । उत्कृष्ट कार्यसम्पादन गर्ने पालिकाले बढी अनुदान प्राप्त गर्नेछन् ।

सुनसरीका सबै पालिका मध्ये बराहक्षेत्र नगरपालिकाले उत्कृष्ट ८५.७५ अङ्क पाएका छन् । भोक्राहा नरसिंह गाउँपालिकाले ८०.५० अङ्क, दुहबी नगरपालिकाले ८०.२५ र इटहरीले ८० पाएको छ ।

Related Posts