सुनसरी,। सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु १ जना गम्भीर घाइते भएको छ ।
सोलु खोलामा निर्माणाधीन हाइड्रोपावरका लागि सामान ओसारपसार गर्ने बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा एकजना गम्भिर घाइते छन् आइतबार राति ११ बजेतिर भएको दुर्घटनामा टिपर चालक धादिङको थाक्रे गाउँपालिका घर भएका अन्दाजी ३२ वर्षीय कमल मगर, मकवानपुरको बागमती गाउँपालिका–४ का राजकुमार मगर
र सप्तरीको सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल चौधरीको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।
दुर्घटनामा मकवानपुरको बागमती गाउँपालिका–४ का २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई सडकबाट लगभग एक सय मिटर तल भेटिएको टिपरको अगाडिको भागमा अड्किरहेको अवस्थामा उद्धार गरिएको थियो ।
चालकबाहेक मृत्यु भएका दुई र घाइते भएका एक जना हाइड्रोपावरका कामदार भएको प्रहरीले जनाएको छ ।
८६ मेगावाटको सोलुखोला दूधकोसी हाइड्रोपावरका लागि ग्याविन जाली र रड लिएर गएको टिपर दुर्घटनामा परेको हो ।