धरान,। धरान भेडेटार सडक स्थित जंगलमा जेब्रा झोलाभित्र भेटिएको शवको पहिचान खुलेको छ । शवको पहिचान खुलेसँगै हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाका अनुसार धरान भेडेटार सडकको जंगलमा छुट्टाछुट्टै स्थानबाट जेब्रा झोलाभित्र फेला परेको शव इलाम बाँझो १ घर भएका ४३ वर्षीय दिनेश सिग्देलको रहेको खुलेको छ ।
शवको सनाखत भएसँगै मृतक सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र २९ वर्षीय सरोज भण्डारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
सुनसरीको बराहक्षेत्र १० प्रकाशपुर घर भए स्थायी इलाम घर भएपनि हाल विराटनगर बस्दै आएकी अनिता केसी र विराटनगर ४ घर भएका सरोज भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको हो ।
घटना विवरणअनुसार शवको टुक्रा पारिएको शरीरको अंगमध्ये पेन्टको गोजीमा च्यापिएको बहराइनस्थित कम्पनीको सेक्युरिटी गार्डले लगाउने फेसमास्कबाट सिग्देलको पहिचान भएको हो ।
प्रहरीले उक्त मास्क फेला पारेपछि मास्कमा बहराइनको कम्पनीको नाम र लोगोको आधारमा बहराइनमा मृतक सिग्देलको अनुहारको स्केचसहित सम्पर्क गर्न पुगेको थियो । सोही सम्पर्कको आधारमा उनीसँगै काम गरेका साथीहरुले सिग्देलको पहिचान गरेको हो ।
मृतक सिग्देल भने पुस २० गते १५ दिनको बिदा मागेर बहराइनबाट सोही दिन नेपाल आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
पुष २० गते नेपाल आएपनि २१ गतेमात्रै श्रीमती अनितासँग विराटनगरको एक होटलमा बसेको र २२ गते बेलुका अनिताका प्रेमी सरोज भण्डारीलाई बोलाएर हत्या गरेको खुलेको छ ।
दिनेश रक्सी धेरै पिउने भएकाले झगडा सुरु भएछ,’ एसपी थापाले भने, ‘पुष २२ गते राति विराटनगरकै एक होटलमा हत्या भएछ ।’
२२ गते राति हत्या भएपछि उनीहरूले भोलिपल्ट बजारबाट जेब्रा झोला किनेर ल्याएको र खुकुरीले शवलाई टुक्रा–टुक्रा पारेर झोलामा हालेपछि टेम्पोमा धरान आएको प्रहरीको अनुसन्धानबाट खुलेको एसपी थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार अनिता र सरोजले ‘ग्राण्ड डिजाइन’ नै बनाएर उनको हत्यापश्चात जेब्रा झोलामा शव पोको पारेर धरानको जंगलमा फालेको खुलेको छ ।
त्यसदिन शव फालेपछि उनीहरू भेडेटार गएर बसेको र भोलिपल्ट विराटनगर झरेको अनुसन्धानबाट खुलेको एसपी थापाले बताए ।
घटनाबारे विस्तृत अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार राति विराटनगरमै ‘सर्च’ गर्ने क्रममा पक्राउ गरेको र आज मंगलबार सार्वजनिक गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरले बताए ।
सिटि चालक पेशा गर्दै आएका सरोज भण्डारीको विवाह भइ १ छोरी रहेको प्रहरीले जनाएको छ । मृतक लामो समयदेखि बहराइनमा बस्ने र आउने जाने गरेको कारण उनका कान्छी श्रीमती अनिता केसी सरोज भण्डारी बीच करीब ६ महिना अघिदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।
पक्राउ परेका दुवैजनामाथि सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, संघीय प्रहरी इकाई कार्यालय धरान र १ नं. प्रदेश प्रहरीको (आरआइटी) समूह परिचालित रहेका थिए ।