इनरुवा,। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ५ स्थित एक युवकको हत्या गरि हात खुट्टा बाँधेर बोरामा फालिएको अबस्थामा सुनसरी खोलामा शव फेला परेको छ ।
सुनसरी खोलामा फेला परिएको शव भोक्राहा नरसिंह गाउँपालिका ५ बस्ने २२ वर्षका गुणराज यादवको रहेको स्थानीयहरुले बताएको हो। स्थानीयका अनुसार बिहीबारदेखी हराइरहेका यादव मृत्यु अवस्था शुक्रबार फेला परेको हो।
यादवको शव शुक्रबार बिहान ८ बजे भोक्राहा नरसिंह ५ स्थित झोलुङ्गे पुल नजिक सुनसरी खोलामा प्लास्टिकको बोरामा बाँधेर पानीमा फालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले जानकारी दिए ।
शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फालेको हुन सक्ने उनले बताए । यादवको हत्या आशङ्कामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बोरामा बाधेको शवलाई निकाल्दा मृतकको कान काटिएको र टाउकोमा गहिरो चोट देखिएको बताइएको छ । साथै उनको हात र खुट्टा समेत डोरीले बाँधिएको अवस्थामा भेटिएको छ ।
बोरा भित्र ढुङ्गा समेत भेटिएको कारण शवसहितको बोरालाई खोलामा डुब्ने हिसाबले फालिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरीको टोली पुगेर अनुसन्धान गरिरहेको छ ।
शुक्रवार भने युवाको खोजी गर्दा रगत लतपतिएको अपराध स्थल भेटिएको थियो । जहाँ मृतकको चप्पल, डोरी र बास भेटिएको थियो । अपराध स्थलदेखि करिब एक किलोमिटर पर आज बिहान शव भेटिएको हो ।