धरान,। भेडेटार जाने सडककाे जंगलमा जेब्रा झोलामा भेटिएका शवको अझै पहिचान खुलेन सकेको छैन।
बुधबार जेब्रा झोलाभित्र टाउको र खुट्टा भेटिएको थियो भने बिहीबार शरीरका अरु भागपनि भेटिएको छ । हिजो टाउको र खुट्टाको भाग भेटिएपछि आज पचास जना पुलिस खटाएका थियौँ ।’
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक एसपी सञ्जयसिंह थापाका अनुसार बुधबार साँझ सुरुमा जेब्रा झोलाभित्र टाउको र घुँडा मुनिको भाग भेटिएको थियो ।
शवको बाँकी भाग खोज्ने क्रममा बिहीबार बिहान करीब डेढ किलोमिटर उत्तर अर्को झोलामा शरीरको भाग पनि प्रहरीले भेटाएको छ । शवको पहिचान नहुँदा अनुसन्धानमा सकस भएको एसपी थापाको भनाइ छ ।
‘यस्तो प्रकृतिको घटना अहिलेसम्म भएको थिएन,’ एसपी थापाले भने, ‘हिजो टाउको र खुट्टाको भाग भेटिएपछि आज पचास जना पुलिस खटाएका थियौँ ।’
उनका अनुसार बिहीबार बिहान प्रहरी खटाएर खोजी गर्ने क्रममा सोही प्रकृतिको जेब्रा झोलामा शरीरको अन्य भाग पनि भेटिएको हो । जङ्गलमा भेटिएका शरीरका विभिन्न भागलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखेर सुक्ष्म ढङ्गबाट अनुुसन्धान सुरु गरिएको एसपी थापाले बताए ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायको नेतृत्वमा खटिएको प्रहरी टोलीले आज बिहान पुनः जेब्रा झोलामा प्याक गरेको अवस्थामा बाँकी शरीरको भाग पनि भेटिएको हो ।
घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, संघीय प्रहरी इकाई कार्यालय धरान र १ नं. प्रदेश प्रहरीको (आरआइटी) समूह परिचालित रहेको एसपी थापाले जानकारी दिए ।
दुई दिनमा दुई स्थानमा झोलाभित्र प्याक गरेर फालिएको पुरुषको शव भेटिए पनि उनी को हुन् भन्ने पहिचान खुलेको छैन । पहिचान हुन नसकेपछि प्रहरीले नै ती पुरुषको अनुहार प्रष्ट देखिने तस्वीर सार्वजनिक गर्दै सनाखतको लागि सहयोग गर्न अपिल गरेको छ ।
‘शवको पहिचानै नभएकाले अनुसन्धानमा समस्या भएको छ, उनको घरमा पनि केही समस्या थियो कि, केही भन्न सक्ने अवस्थै छैन,’ उनले भने घटना कतिदिन अघिको भन्ने पनि यकिन भएको छैन, रहस्यमय घटना भएकाले अनुसन्धानको क्रममा छौँ ।’
बुधबार दिउँसो जंगलमा दाउरा खोज्न गएका स्थानीयले दुर्गन्ध फैलिएपछि जेब्रा झोला खोलेर हेर्दा मानव शरीर रहेको भेटेका थिए । मानव शरीर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।