हरिनगर,। हरिनगर गाउँपालिकामा माओवादी केन्द्रले पालिका चुनाव लड्न १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
आज अपरान्ह सम्पन्न पालिका समितिको बिस्तारित बैठकले पूर्वमन्त्री मोहम्मद जाकिर हुसैनको कमाण्डमा दिल मो। मियाँ संयोजक, भगवतीप्रसाद महतो सहसंयोजक र मोहनकुमार यादव सचिव रहने गरी १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको हो ।
बैठकले हरिनगर गापामा यस पाँच वर्षको अबधिमा पार्टीको गुणात्मक संगठन बिस्तार भएकोले यसपटक पार्टीले उच्च मनोबलका साथ पालिका चुनाव लड्ने निर्णय गरेको निर्वाचन कमाण्डर तथा पूर्वमन्त्री हुसैनले बताए ।
हरिनगरमा माओवादी केन्द्र यस पटकको निर्वाचन आफ्नै बलमा एकलै लड्ने तयारी गरिरहेको छु बैठकपछि हरिनगर पार्टी सचिव तुफैल अन्सारीले बताए ।
बैठकमा प्रमुख अतिथि रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद मेहताले सुनसरीको दक्षिण बेल्टमा पहिलेकोभन्दा हाम्रो पार्टी निकै मजबुत भएको तर अन्य पार्टीले हामीलाई कमजोर देखाउने गरी आफ्नो हैसियत मजबुत देखाउँदै दुष्प्रचार गरिरहेको बखतमा हामीले हाम्रै बलमा चुनाव जित्ने आँट गर्नु सुखद रहेको बताए ।
ुपूर्वमन्त्री हुसैनले माओवादी पार्टीले अख्तियार गरेको संघीयता, समावेशिता र शक्तिशाली स्थानीय तहको नीतिले गर्दा कम समयमा देशैभर सबै पालिकाहरूमा भौतिक पूर्वाधार विकासको लहर आएकोले आज हरिनगरमा पनि मुख्य सडक, पुलहरू बनेको हो भन्दै आजको विकासको गतिको श्रेय माओवादी पार्टीले जनताबाट पाउनुपर्छु भने ।
बैठकले निर्वाचन र उम्मेदवारबारे वाह्य तथा आन्तरिक वार्ताकालागि जाकिर हुसैनको संयोजकत्वमा दिल मो। मियाँ, भगवतीप्रसाद महतो, मोहन यादव र सत्यनारायण मेहता गरी पाँच सदस्यीय वार्ता समिति गठन गरेको सचिव तुफैल अन्सारीले जानकारी दिए ।
हरिनगर गाउँपालिकामा आजदेखि माओवादी केन्द्रको चुनावी अभियान शुरु भएको र आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धा नेपाली काँग्रेससँग मात्र रहेको परिचालन कमाण्डर जाकिर हसैनले बताएका छन् ।
उनले आफ्नो पार्टीको संगठन अधिकांश वडाहरूमा अन्य पार्टीभन्दा सुदृढ रहेको र विभिन्न पार्टीका थप केही प्रभावशाली स्थानीय नेताहरू पार्टीमा आउने छलफल चलिरहेको बताए । चैत्र मसान्तसम्म उम्मेदवार टुंग्याउने योजना रहेको उनले बताए ।
बैठकले तुफैल अन्सारीको संयोजकत्वमा सात सदस्यीय प्रचार-प्रसार समिति, सत्यनारायण मेहताको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक समिति गठन गरेको छ ।
आजैदेखि हरिनगरमा निर्वाचन परिचालन समितिले चैत्र मसान्तसम्मकोलागि पहिलो चरणको कार्यक्रम शुरु गरेको सचिव तुफैल अन्सारीले बताए ।