इनरुवा,। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका डा. इसराईल मन्सुरी जिल्लाकै सामाजिक र राजनीतिक क्षेत्रमा चिरपरिचित व्यक्ति हो।
कम बोल्ने काम बढी गर्ने स्वभावले समाजमा सामाजिक ब्यक्तित्वकारुपमा मन्सुरीले आफूलाई उभ्याएका छन् । गत वर्ष २०७४ सालको स्थानीय चुनावमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिदा झिनो मतले पराजित भएपनि जनताको मन मनमा बस्न सफल भई सबै क्षेत्र,समुदायहरुले रुचाएका पात्र समेत हुन् ।
हाल नेपाली काँग्रेसका भातृ संस्था नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका डा. इसराईल मन्सुरीलाई अबको गाउँपालिका अध्यक्षमा उठ्नका लागि जनताहरुको सल्लाह, सुझावसमेत आएको बताउँछन् ।
डा. इसराईल मन्सुरीसँग समसामयीक विषयमा स्मार्ट २४ न्यूजका कार्यकारी सम्पादक नसीम अन्सारीले गरेको संक्षिप्त कुराकानी:
आफ्नो परिचय दिनु पर्दा कसरी दिनुहुन्छ?
म आफूलाई एक सामाजिक, राजनैतिक ब्यक्तिकारुपमा परिचित गराउन चाहन्छु । यस क्षेत्रका जनताले डा. इसराईल मन्सुरी भनेको जनताको बिचमा गई पिर मर्काहरु बुझ्ने नेताकारुपमा मलाई समाजमा उभ्याएका छन् ।
आफ्नो राजनीतिक यात्रालाई कसरी परिचित गराउनुहुन्छ ?
मैले २०६२ साल देखि राजनैतिकमा भए तापनि स्वास्थकर्मिका रुपमा जनता तथा समाजसेवा गर्दै २०७४ सालमा जागिरबाट राजिनामा दिएर राजनीति यात्रा सुरुवात गरेँ । म सबै समुदायका अधिकारका लागि पहिचान र संघियताका लागि राजनीतिक क्षेत्रमा लागेँ यस क्रममा मैले जनताका बिचमा गई धेरै काम गरेको छु ।
स्थानीय चुनाव २०७४ मा भोक्राहा नरसिंह गाउँपालिकामा तत्कालीन संघीय समाजवादीबाट महेन्द्र प्रसाद यादव पहिलो, दोश्रोमा नेपाली काँगेसका नेता अजमल अख्तर आजाद र तेस्रोमा म स्वतन्त्रबाट १ हजार ७ सय ९२ मतका साथ उच्च सम्मानीत मत जनताबाट पाएको थिएँ ।
राजनीति तथा सामाजिक क्षेत्रमा क्रियाशील हुनका लागि आर्थिक स्रोतको कसरी ब्यवस्थापन गर्नुहुन्छ नि ?
अबश्यपनि राजनीति गर्ने मानिसहरुले राजनीतिलाई पेशा बनाएका कारण यस क्षेत्रलाई बदनाम बनाएका छन् । आफू आर्थिकरुपमा सक्षम छु, सकिएन भने जनताले समेत यसको आर्थिक जोहो कसरी गरिरहेको छ भन्ने प्रश्न गर्छन् त्यसैले मेरो ब्यवसाय समेत छ । मेरो अस्पताल छ त्यसैगरि खेतीबाट आम्दनी छन्, त्यसैगरि सटरहरुबाट मासिकरुपमा भाडा समेत आउने गरेको छ। यसका अलावा मैले मासिकरुपमा बिपन्नहरुलाई सहयोग समेत गर्ने गरेको छु ।
सामाजिकरुपमा सहयोग गरेको कुरा गर्नुभयोरु यहाँले मासिकरुपमा के कति सहयोग गर्ने गर्नुहुन्छ होला ?
जनताको दुखःको बेला सामाजिक क्षेत्रमा मेरो मासिक १ लाख भन्दा धेरै खर्च हुन्छ । मैले बिपन्नलाई राहत बितरण देखि बिभिन्न सहयोग समेत गर्ने गरेको छु । कोरोना सक्रमणको समयमा मैले मेरो एम्बुलेन्समा बिरामी प्रयोग गर्न दिएको थिएँ । स्थानिय सरकार तथा अस्पतालबाट एम्बुलेन्स पाउन नसकेको धेरै बिरामीका पिडा बाहिर आएका कारण मैले मेरो एम्बुलेन्स प्रयोगका लागि दिएको थिएँ ।
१ वर्ष सम्म बिरामी बोक्न अस्पताल लैजाने, मान्छे बिरामी भएको बेलामा अक्सीजन सिलिण्डर हस्पीटलमा पुर्याउने काम गरेँ । लकडाउनको समयमा त्यो बेला कुनै नेता घर बाहिर निस्कीएका थिएनन् । मलाई भन्ने गर्थे यिनले कोरोना फैलाउने भए । तर म डराइन अझ समाजमा साबुन, सेनेटाइजर कोरोनाको समयमा बाडेँ । गरिबलाई गाउँपालिका १ हजार भन्दा बढी घर परिवारलाई राहत बितरण गरेँ ।
आगामी चुनावमा फेरी अध्यक्षमै उम्मेदवारी दिनुहुन्छ वा के गर्नुहुन्छ ? कुनै योजना बनाउनुभएको छ कि ?
आगामी चुनावमा मैले स्थानिय तहबाट उम्मेदवारी दिने सोँच बनाएको छु । भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा मेरो उम्मेदवारी रहने जानकारी गराउन चाहन्छु । जनताले राम्रो विश्वाँस गरे । अरुलाई पनि चान्स दिनुपर्छ । जनताको सुझाव गाउँपालिकामा उठ्नुहोस भन्ने आएको हुनाले मैले यो पटक गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिँदै छु ।
तपाईलाई पार्टीबाट टिकट पाउने सम्भावना छ त ? अनि चुनावमा त कडा प्रतिस्पर्धा हुँदै छ नि होइन ?
पार्टीबाट मैले नै टिकट पाउँछु । जनताले मलाई विश्वांस गरेका छन् । गत स्थानिय चुनावमा पनि हामीले नै जितने अवस्थामा थिए। मलाई दैनिकी ३०/४० वटा फोन आउँदा तपाईँ नै नेपाली काँग्रेसबाट भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्षमा लड्नुपर्छ भन्ने सुझाव आइरहेको छ ।
गत चुनावमा हामीले स्वतन्त्रबाट झिनो मतले हारेको थिए, काँग्रेस पार्टीबाट मेरो उम्मेदवारी रहने हुँदा मैले चुनाव जित्नेमा म ढुक्क छु । अन्य पार्टी भन्दा स्थानिय तहमा हामी धेरै बलियो भएको हुँदा कडा नै प्रतिस्पर्धा त हुँदैन । हाम्रो पार्टीका उम्मेदवारहरु धेरै मतान्तरका साथ चुनावमा विजयी हुने छन् ।
यहाँलाई आगामी चुनावका लागि अग्रीम शुभकामना सहित अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
यहाँलाई पनि धेरै धेरै धन्यवाद । मलाई यस कार्यालयमा बोलाई आफ्ना कुरा समग्र पार्टीका कुरा राख्ने मौका दिनु भयो त्यसका लागि आभारी छु ।