स्मार्ट २४ न्यूज
मोरङ,। विराटनगरको अस्पताल चौकमा करिब ९ वर्षयता सञ्चालनमा रहेको श्री हस्पिटल बन्द भएको छ ।
कुनै जानकारी नदिई हस्पिटल बन्द भएपछि त्यहाँ कार्यरत ४३ स्वास्थ्य कर्मचारी अलपत्र परेका छन् । शनिबारको बिदामा बसेका कर्मचारीले आइतबार एक्कासी हस्पिटल बन्द भएको थाहा पाएका थिए ।
पाँच महिना देखि तलब नपाएका कर्मचारीहरु हस्पिटलले आफुहरुलाई कुनै जानकारी नदिइ हस्पिटल बन्द गरेपछि सञ्चालक राजेश अग्रवालको घर घेराउ गरेका छन् । सोमबार तलब माग गर्दै अग्रवालको घर घेरेका हुन् ।
हस्पिटलमा लकडाउन यता बिरामीको चाप थिएन् । आर्थिक नोक्सानी भोगेका कारण अग्रवालले लकडाउन सुरु भएयता कर्मचारी समेत कटौती गरेका थिए । तर कार्यरत कर्मचारीलाई तलब नदिएका अग्रवालले एक्कासी अस्पताल बन्द गरेका थिए ।
हस्पिटलमा कार्यरत कर्मचारी मध्ये केहीले पाँच महिना र केहीले ३ महिनायता पारिश्रमिक नपाएको हस्पिटलमा कार्यरत कर्मचारी मनोज साहले बताए ।
पूर्व जानकारी विना हस्पिटल बन्द गरेपछि तीन डाक्टरसहित ४३ कर्मचारीले अग्रवालको घर घेरेपछि घरमा प्रहरी टोली पुगेको थियो ।
डीएसपी बेदप्रसाद गौतमको नेतृत्वमा पुगेको प्रहरी टोलीले हस्पिटल सञ्चालक र कर्मचारीबीच छलफल गराएको थियो ।
छलफलका क्रममा अग्रवाल तलब चुक्ता गर्न राजी भएका छन् । उनले प्रत्येक दिन १० जनाका दरले सबैको पारिश्रमिक भुक्तानी गरिदिने बताए ।