नसीम अन्सारी भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिका -१ स्थित भुटाहामा रहेको भुटाहा जेनरल हस्पिटललाई कोरोना संक्रमित राख्ने आईसोलेसन वार्ड बनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले निर्णय गरेको छ।
प्रदेश १ सरकारले कोरोना संक्रमितहरुको उपचारको लागि स्थापना गरेको कोभिड अस्पतालदेखि आइसोलेसन वार्डहरु भरिएर संक्रमितहरुलाई आ–आफ्नै घरमा उपचार गराउने स्थितिमा पुगेपछि कोभिड १९ क्राईसिस मेनेजमेन्ट सेन्टरले आईसोलेसन वार्ड बनाउने निर्णय गरेको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी तथा कोभिड १९ क्राईसिस मेनेजमेन्ट सेन्टर सुनसरीका संयोजक फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले कोभिड १९ का संक्रमितलाई अस्पतालमा राख्न वेड अभाव भैरहँदा स्थानीय तहको समन्वयमा सरोकारवालाहरुले अस्पतालमा वेड अभावका कारण कोरोना पोजेटिभ पाइएका व्यक्तिहरु होम आइसोलेसनमा बस्नु पर्ने बाध्यात्मक अवस्थालाई ध्यान दिदै भुटाहा जेनरल हस्पिटलमा कोरोना संक्रमित राख्ने आईसोलेसन वार्ड बनाउने निर्णय गरिएको बताए ।
सुनसरीमा समेत पछिल्ला केहि दिनयता कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या बढ्दो क्रममा छ । वेड अभावका कारण संक्रमितले घरमै बस्नु पर्ने अवस्था सबैका लागि सहज र सम्भव नहुने भएकाले विकल्पमा भुटाहामा क्वारेन्टाईन रहेको भुटाहा जेनरल हस्पिटललाई आइसोलेसन वार्ड बनाउने भएको छ।
प्रसाईका अनुसार हरिनगरको भुटाहामा रहेको भुटाहा जेनरल हस्पिटललाई सबै स्थानीय तहले मिलेर साझा रुपमा आईसोलेसन कक्षका रुपमा सञ्चालनमा ल्याउने भएका छन ।
पूर्वाधार सम्पन्न अस्पतालको भवनमा वेड सहितका संरचनाहरु पर्याप्त रहेका छन् । पर्याप्त कोठा र एकान्त स्थानमा रहेकाले समेत कोभिड १९ को मापदण्डअनुसार व्यवस्थापन मिलाएर उक्त भवनलाई आईसोलेसन वार्डका रुपमा परिणत गर्ने निर्णय भएको हो ।