नसीम अन्सारी
इनरुवा:- नेपाल-भारत सीमा अतिक्रमण नियन्त्रण गर्ने दुवैपक्षले सहमति गर्दै नेपाल भारत संयुक्त सुरक्षा बैठक बिहीबार सम्पन्न भएको छ ।
सुनसरीको लौकहीमा रहेको सशस्त्र प्रहरी बल बिओपी लौकहीको कार्यालयमा सुरक्षा बैठक बसेको थियो ।
सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त बैठकले सीमा अतिक्रमण भएका ठाउँलाई नियन्त्रण गर्न सहमति गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सुनसरीका डिएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक आफ्नो भूभागमा देखापछि नेपालमा सीमा विवाद उत्पन्न भएपछि सशस्त्र प्रहरी बलले सीमामा रहेको सीमास्तम्भको खोजि तलासी गरेको थिए।
सशस्त्रले खोजि गर्दा सुनसरीमा रहेको नेपाल-भारत सीमामा पर्ने २३ वटा सीमास्तम्भ हराएको सशस्त्र प्रहरी बल सुनसरीले जानकारी दिएको थियो । नेपालतर्फबाट सशस्त्र र भारतको तर्फबाट एसएसबीले दसगजामा बनाइएका भौतिक संरचना हटाएको थियो ।
दसगजामा कुनै भत्केको वा जीर्ण तथा बालुवाले पुरिएका जङ्गे पिलर बारे सशस्त्र प्रहरीले चासोसमेत देखाएको थियो । सशस्त्र प्रहरीले सीमास्तम्भ सुरक्षा गर्दै आएको छ भने नयाँ सीमास्तम्भ निर्माण गर्ने अधिकार नापी विभागसँग छ ।
सीमामा अपराध न्यूनीकरण गर्न र सीमा अतिक्रमण नियन्त्रणमा समन्वयात्मक भूमिका खेल्न भारतीय सीमा सुरक्षा बल एसएसबीसमेत सकारात्मक रहेको डिएसपी श्रेष्ठको भनाइ छ ।
संयुक्त सुरक्षा बैठकमा दुवै देशका सुरक्षाकर्मीले सीमास्तम्भको अवस्थाका बारेमा बुझ्नुका साथै सीमाक्षेत्रमा हुने चोरी तस्करी तथा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहकार्य गर्ने समझदारी गरेको छ ।
नियमित सुरक्षा बैठक अन्तर्गत नेपाल–भारत संयुक्त सुरक्षा बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरीका डिएसपी बालकृष्ण श्रेष्ठ, बिओपी लौकहीका इन्स्पेक्टर भूपेन्द्रकाजी निरौला, बिओपी श्रीपुरका इन्स्पेक्टर देवेन्द्र मैनाली, बिओपी घुस्की, बिओपी लाही, बिओपी कप्तानगञ्ज, बिओपी भण्टाबारी हरिपुर सहित सुनसरीका सबै सीमाक्षेत्रमा तैनाथ सशस्त्र प्रहरी प्रमुखका साथै भारतको तर्फबाट एसएसबी ५६ औं बटालियन सुपौल जिल्लाका कमाण्डेण्ट मुकेश त्यागीसहित सहभागी थिए ।