भुटाहा,। भारतीय मशहुर शायर तथा गीतकार राहत इन्दौरीको मंगलबार ७० वर्षका उमेरमा हृदयघातबाट मृत्यु भएको हो।
कोरोना संक्रमण देखिएका राहत इन्दौरीको मध्य प्रदेशको अरविन्दो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनको हृदयघातबाट मृत्यु भएको हो ।
मंगलबार बिहान ट्वीट गर्दै इन्दौरीले आफूमा कोरोना देखिएको जानकारी दिएका थिए । उनले लेखेका थिए, ‘कोभिडको सुरुवाती लक्षण देखिएकाले हिजो मेरो परीक्षण गरिएको थियो ।
मेरो रिपोर्ट पोजिटिभ आएको छ। म अरबिन्दो अस्पतालमा भर्ना भएको छु । प्रार्थना गर्नुहोस् कि मैले यस कोरोनालाई जित्न सफल हुन्छौं । इन्दौरीले लेखेका थुप्रै शायरी र गीतहरु मशहुर छन् । पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढिरहेका बेला उनले लेखेको कविता ‘बुलाती है मगर जानेका नहीँ’ निकै लोकप्रिय भएको थियो ।
सामाजिक दूरी कायम गरौं’ भन्ने सन्देशसहित यो कवितालाई प्रयोग गरी धेरैले यसको मिम बनाएका थिए । उर्दू भाषाका प्राध्यापकसमेत रहेका उनले उर्दूमा पीएचडी समेत गरेका थिए । उनले ‘मुन्ना भाइ एमबीबीएस’, ‘मर्डर’ लगायतका बलिउड चलचित्रका लागि समेत गीत रचना गरेका छन् ।
राहत इन्दौरीको जन्म सन् १९५० को जनवरी १ मा मध्य प्रदेशको इन्दौरमा भएको थियो । मञ्चमा आफ्नो सायरी प्रस्तुत गर्ने शैलीका कारण पनि उनी मशहुर थिए ।