स्मार्ट २४ न्यूज, ६ पुष २०७६ मा प्रकाशित
हरिनगर:- सुनसरीकाे हरिनगर गाउँपालिका भुटाहामा ढल निर्माणाधीन हुलाकी सडक राजमार्ग अन्तर्गत भुटाहा सडकखण्डकाे ढल, नाला निर्माणमा चरम लापरवाही भएको पाइएको छ । निर्माण कम्पनीको लापरवाहीका कारण निर्माण कार्यमा गुणस्तरहीन इँट्टा र सामग्री प्रयोग गरिरहेकाे स्थानीयबासीहरुले भुटाहा बजारमा गुनासो गरिरहेकाेछ। सम्पन्न नहुँदै ढल नालाकाे भुई ढलाई मेसिनरी वाल भत्किन सुरु भएको छ ।
सुनसरीको हरिनगर गाउँपालिकाको सुनसरी मरिया खाेला, भुटाहा मदरसा बान्ध देखि हनुमान मन्दिर खण्डको दुवै छेउमा ढल नाला निर्माणमा बढी बेथिति देखिएको छ । उक्त ठाउँमा इँट्टा तथा गिट्टी–बालुवा सडक विभागले तोकेको मापदण्ड अनुसारका प्रयोग गरिएको छैन । विकाे विलर्डस कन्स्ट्रक्सनले उक्त सडकको निर्माण जिम्मा लिएको छ । तर, विकाे विलर्डस कन्स्ट्रक्सन कम्पनीले आफूले काम नगरेर २० प्रतिशत भन्दा बढी मुनाफा लिएर स-साना निर्माण कम्पनी र व्यक्तिलाई निर्माणको जिम्मा दिएको छ । बीचमा नाफा खाने ठेकेदार बढी भएका कारण सडक विभागले तोकेभन्दा कम गुणस्तरहीन सामग्री प्रयोग गरी सडक निर्माण गरेको बुझ्न कठिन छैन । उक्त सडक निर्माणको क्रममा ठेकेदार कम्पनीले चरम लापरवाही गरेको र उनीहरुले सचेत गराउन खोज्दा पनि सुनुवाई नभएको स्थानीय बताउँछन् ।
निर्माणकै चरणमा रहेको सडकको भत्कनुको कारण जान्नका लागि हामीले उक्त सडक खण्ड हेर्ने ईन्जिनियर ललित यादवलाई सम्पर्क ग-यौँ । उनले इँट्टा गुणस्तरहीन र मेसिनरी वाल भत्किएको स्वीकार्दै केही दिनपछि मर्मत गर्ने बताए । सुनसरी जिल्लाकाे सदरमुकाम इनरुवा देखि दक्षिणी क्षेत्रमा विकास निर्माणकाे नाममा पहिलो चाेति यति ठुलो याेजना अाएकाे तर कमिसन मात्रै खाेजनेहरुकाे विकास हुने स्थानीयबासीहरुकाे अाराेप रहेको छ। नयाँ संविधान जारी भएको समयमा चलेको ५ महिना लामो मधेश आन्दोलनका क्रममा राजधानीलाई पूर्व जोड्ने वैकल्पिक सडकको रुपमा सुनसरीकाे ग्रामीण क्षेत्र हुदै काठमाडौबाट सुनसरीकाे लाैकही , नरसिंह , भुटाहा, हरिनगरा, चिमरी हुदै बिराटनगर हुलाकी सडकखण्ड चर्चामा आएको थियो ।