इनरुवा,। सुनसरीको इनरुवाबाट हतियार सहित घुस्की ४ जना युवा पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले २ थान पेस्तोल र ४ राउन्ड गोली सहित ४ जनाको समूहलाई पक्राउ गरिएको हो।
इनरुवा क्षेत्रमा हातहतियार सहित केही व्यक्तिहरू रहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले बुधवार साँझ र बिहीबार बिहान गरी ४ जनालाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ पर्नेहरूमा हरिनगर गाउँपालिका-७ घुस्कीका २० वर्षीय सबिर मियाँ, त्यही बस्ने ३१ वर्षीय सवरेज मियाँ, सोही स्थानका २५ वर्षीय सिकन्दर मलाहा र हरिनगर-६ घुस्कीकै २३ वर्षीय फरियाद अन्सारी रहेका छन् ।
सबिर मियाँलाई बुधवार राती इनरुवाको महेन्द्र चोकबाट पक्राउ गरिएको थियो । मियाँको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, गोली १ राउन्ड, र उनले प्रयोग गर्ने १ थान मोटरसाइकल सहित पक्राउ गरेको थियो ।
यसैगरी मियाँकै बयानका आधारमा अन्य व्यक्तिहरू समेत हातहतियार सहित घुमफिर गरिरहेको भन्ने खुल्न आएसँगै तत्काल प्रहरी परिचालन गरि थप ३ जनालाई हतियारसहित पक्राउ गरिएको हो।
सवरेज मियाँ सहित अन्य ३ जनालाई बिहीबार बिहान इनरुवा क्षेत्रबाट १ थान पेस्तोल, तिन राउन्ड गोली, दुई थान म्यागेजिन र उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
हातहतियार सहित पक्राउ परेका उनीहरूलाई विरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।