स्मार्ट २४ न्यूज
काठमाडौं,। सरकारले कोरोना भाइरस रोकथामका लागि जारी राखेको लकडाउन अझै १२ दिन थप गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले १२ दिन थप गरि लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । बैठकले वैशाख १८ गतेसम्म सबै हवाई उडान स्थगित गर्ने निर्णय समेत सरकारले गरेको छ।
सरकारले गत चैत ११ देखि १८ गतेसम्म पहिलोपटक १ हप्ते लकडाउन घोषणा गरेको थियो । त्यसपछि दोस्रोपटक चैत १७ गतेको मन्त्रिपरिषद बैठकले ७ दिन थपेर चैत २५ सम्मका लागि लकडाउन लम्ब्याएको थियो ।
उक्त अवधि सकिनु १ दिन अगावै सरकारले तेस्रोपटक जारी लकडाउन ८ दिन थपेर वैशाख ३ गतेका लागि लम्ब्याएको थियो । जसको अवधि भोलि बुधबार सकिने थियो ।
तर सो अवधि समाप्त नहुँदै आजको मन्त्रिपरिषद बैठकले चौथोपटक १२ दिन थप गरेर अवधि लम्ब्याएको हो । अब जारी लकडाउन बैशाख १५ गतेसम्म कायम रहनेछ ।