इनरुवा,। प्रदेश सरकारले सुनसरी,मोरङ्ग र झापा गरि तीन जिल्लामा होटल,क्याम्पस र हस्पिटलमा कोभिड-१९ आइसोलेसन केन्द्र सञ्चालन गर्ने भएको छ । मन्त्री शेरधन राईको संयोजकत्वमा बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिएमसि) प्रादेशिक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
कोभिड १९ का संक्रमितहरुको संख्या दिनानुदिन बृद्धि भइरहेको र संक्रमितहरुलाई राख्ने आइसोलेसन वेडको अभाव भइरहेको बेला आज सिएमसि बैठकले यो निर्णय गरेको हो ।
बैठकले स्थानीय तहसमेतको साझेदारी र सहकार्यमा विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजकाे भवन, रंगेली नगरपालिका वडा नं ७ स्थित जनता क्याम्पसको भवन र सुनसरीको हरिनगर गाउँपालिका १ स्थित भुटाहामा रहेको भुटाहा जेनेरल हस्पिटल र बराहक्षेत्र नगरपालिका स्थित कृष्णदास आश्रम चतरामा पनि आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ ।
ती ठाउँमा कोभिड १९ को संक्रमण भएको तर लक्षण विहिन व्यक्तिहरुलाई राख्ने गरी सिएसिले निर्णय गरेको जनाएको छ । मारवाडी सेवा समाज बिराटनगरमा ५० बेड हुनेछ भने रंगेलीको जनता क्याम्पसमा १०० बेड, हरिनगरको भुटाहा जेनरल हस्पिटलमा ५० बेड र चतरास्थित आश्रममा १०० बेड क्षमताको आइसोलेसन केन्द्र हुनेछ ।
यसैगरि उक्त बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले तयार गरेको “लकडाउन खुले पश्चात कोभिड १९ रोकथाम प्रतिकार्य र नियन्त्रण सम्बन्धी कार्ययोजना २०७७ स्वीकृत गर्ने निर्णय पनि गरेको पनि मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जानकारी दिएको छ ।