इनरुवा,। नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी १४ औं महाधिवेशनको संघारमा रहे पनि समयमै महाधिवेशन हुन्छ कि हुँदैन भन्ने अन्योल अझै जारी रहेको बताएका छन् । उनले कांग्रेसका लागि आगामी दिन अझै चुनौतिपूर्ण हुने बताए ।
१४ औं महाधिवेशनबाट पार्टीको नेतृत्व, संस्कार र संस्कृति परिवर्तन जरुरी रहेको बताउँदै उनले लोकतान्त्रिक अभ्यासको पूर्ण पालनासहित निश्पक्ष निर्वाचन गर्नुपर्नेमा जोड दिए । क्रियाशिल सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा सबैलाई विशेष प्राथमिकता दिनपनि नेता सिटौलाले आग्रह गरे ।
उनले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले सत्ताको सम्पूर्ण शक्ति आन्तरिक संघर्षमा नै खर्चिएको बताए । नेपाली कांग्रेस सुनसरीको पार्टी कार्यालयमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो धारणा राखेका हुन् ।
उनले भने, ‘कसैलाई ओली बचाउनु छ, कसैलाई ओलीलाई हटाउनु छ वर्तमान सरकार सत्ता र शक्तिको नशामा मात्तिएको छ । यो सरकारले कम्युनिष्टकै प्रगतिमा सबै जनताको प्रगति देख्छ । तर जनताको समस्या र गुनासाको सम्बोधन गर्दैन । गर्न सक्दैन । सरकार नशाको मातमा सुतेको छ, मिलेर वा झगडा गरेर भए पनि वर्तमान सरकारले सरकारी सम्पत्तिको दुरुपयोग गरिरहेको छ ।’
प्रेसमाथि संकुचन, न्यायालय, कर्मचारी प्रशासन, आयोगहरु, प्रहरी प्रशासन सबैलाई आफ्नो इशारामा चल्ने बनाएर वर्तमान सरकार एकदलीय कम्युनिष्ट सर्वसत्ताबाद लाद्न उद्यत रहेको नेता सिटौलाले दावी गरे ।
विदेशी सरकार प्रमुखबाट प्रशिक्षण लिने घटना नेपालमै पहिलो भएको उल्लेख गर्दै उनले चिनियाँ राष्ट्रपतिमार्फत प्रशिक्षण लिएर वर्तमान सरकारले कुटनीतिक मर्यादा र पञ्चशीलको मान्यताविपरित कार्य गरेको बताए । छिमेकीका हिसावले भारत र चिनसँग नेपालको आपसी सम्बन्ध सुमधुर रहेको र दुवैसँग समान सम्बन्ध राख्नुपर्ने उल्लेख गर्दै उनले विदेशी सरकारबाट प्रशिक्षण लिनु खेदजनक रहेको बताए ।
वर्तमान सरकारले जनहित र राष्ट्रिय हितमाकुनै काम गर्न नसकेको दावीगर्दै नेता सिटौलाले अहिले उद्योग, ब्यापार, ब्यवसाय चौपट बनेको तर सरकारले अर्थतन्त्रबचाउन कुनै योजना बनाउन नसकेको बताए ।
पूर्व गृहमन्त्री समेत रहेका नेता सिटौलाले वर्तमान सरकारसँग पोलिसी, एक्सनप्लान र सोच्ने क्षमता नै नभएको जिकिर गर्दै सोधे, कोरोना देखिँदा देश नै ठप्प हुने गरी लकडाउन गर्ने र अहिले देशैभर कोभिडका संक्रमित देखिँदा सबै खुल्ला गर्ने यो सरकारसँग के पोलिसी छ, के भिजन छ, के क्षमता छ रु’
नेपाली कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्न सभापति शेरबहादुर देउवालाई पार्टीका पूर्व महामन्त्री समेत रहेका कृष्णप्रसाद सिटौलाले सुझाव दिएका छन् ।
अहिलेको ओली सरकारलाई हटाउनुपर्ने नेता सिटौलले बताउँदै पार्टीका सभापति देउवालाई आफूहरुले केन्द्रिय समितिको बैठकमा स्पष्ट रुपमा तीन दलसँग सहमति गरेर कांग्रेस नेतृत्वमा सरकार गठन गर्न पहल गर्नका लागि सुझाव दिएको बताए ।
कम्यूनिष्टहरुले अहिलेको अवस्थामा निर्वाचन गरायो भने निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाधलीरहित हुनेमा आशंका रहेकाले त्यसको नेतृत्व काङग्रेसले नै लिनुपर्ने नेता सिटौलाको तर्क थियो ।
कार्यक्रममा नेपाली काँग्रेस सुनसरी जिल्ला सभापति तथा प्रदेश १ का प्रमुख प्रतिपक्षीदलका नेता राजिव कोइराला, प्रदेश १ का संसाद ज्योति सुब्बा, नवोदिता चौधरी, बिराटनगर महानगरपालिकाका प्रमुख भिमप्रसाद पराजुली, धरान उपमाहानगरपालिकाका मेयर तिलक राई, इनरुवा नगरपालिकाका मेयर राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष एयुव अंसारी, जिल्ला सचिव केदार भण्डारी, कोषाध्यक्ष पंकज महतो, बिभिन्न स्थानीयतहका प्रमुख तथा प्रतिनीधिहरु लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा ४१ बर्ष देखि बिभिन्न पत्रपत्रिका बिक्री गर्दै आएका सुनिल सिंहलाई पार्टीले सम्मान गरेको छ । सिंहलाई दौसल्ला र सम्मानपत्रले सम्मान गरेको नेपाली कांग्रेस सुनसरीका कोषाध्यक्ष पंकज महतोले जानकारी दिएका छन् ।
सोही कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि एक दजर्न भन्दा बढी कांग्रेसका प्रेवश गरेका छन् । नवप्रवेशीहरुलाई अबिरको टिका लगाई कांग्रेसका नेताहरुले स्वागत समेत गरेका थिए ।