अहमद अन्सारी
राजविराज,। नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले कुनै सम्झौता गरेर आफूहरु सरकारमा नजाने बताएका छन् ।
शुक्रबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा उनले ओली सरकारको विकल्प खोज्नुपर्ने भए पनि कांग्रेस एक्लैले केही गर्न नसक्ने बताए ।
‘कांग्रेसको ६१ जना सांसद मात्रै छन् । यसमा मधेशवादी दल र माओवादीको पनि सहकार्य हुनुपर्छ’ उनले भने, ‘तर हरेक सम्झौता कांग्रेसले नै गर्नुपर्छ भने कांग्रेस सरकारमा जाँदैन ।’
आफ्नो हात खुटा बाँधेर, चल्नै नसक्ने बनेर सरकारको नेतृत्व लिन उनले बताए । ‘यस्तो सरकार अप्ठ्यारोमा पर्छ’ डा। महतले भने ।
सहज रुपमा कांग्रेसको नेतृत्वमा सरकार बन्नु आवश्यक रहेको भन्दै उनले वैकल्पिक सरकार निर्माण गरौं भनेर माओवादी र मधेश केन्द्रित दल आउँछन् भने नेतृत्व लिन कांग्रेस तयार भएको बताए ।
‘अहिले हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाजी सरकारमा जाने बिषयमा मौन हुनुहुन्छ भन्ने चर्चा छ’ सहमहामन्त्री महतले भने, ‘यही कारण उहाँ अगाडि बढिरहनुभएको छैन ।’
नेता महतले सभापति देउवाले धेरै सोच विचार गरेर कदम चालिरहेको पनि बताए । कांग्रेस आउने निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढेको पनि उनले दावी गरे ।
‘नेपाली कांग्रेसले नै सरकार बनाएपनि या कम्युनिष्टकै सरकार रहिरहे पनि चाँडै चुनाव हुन्छ’ उनले भने, ‘अर्को चुनावमा हाम्रो जित्ने र बहुमत ल्याउने मूल लक्ष्य हो ।’