बिराटनगर,। कोरोना संक्रमणका कारण सीमा वारपारमा कडाई गरिएको बेला जिल्ला प्रशासन कार्यालय सुनसरीको गाडी लिएर विराटनगर पारि भारतीय बजार जोगबनीमा शनिबार दिनभर किनमेल चलेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रयोग गर्दै आउनु भएको सरकारी नम्बर प्लेट ‘को १ झ ५५५’ गाडी प्रयोग गरेर जोगबनीमा ‘सपिङ्ग’ गर्न टोलि आएको हो ।
सरकारी गाडी भन्सार क्षेत्रमा राखेर महिलाको एक समूह जोगबनीमा किनमेलका लागि गएपछि रानीका स्थानीय युवाहरुले गाडीलाई नियन्त्रणमा लिएका थिए । गाडी रानीको भन्सार क्षेत्रको एक नम्बर ढाटमा राखिएको थियो ।
किनमेल गरेर फर्केपछि युवाहरुले दुई नम्बर ढाटमा गाडी नियन्त्रणमा लिएका हुन् । विराटनगर–१७ का युवा हमिद आजादका अनुसार शनिबार सरकारी गाडी प्रयोग गरेर जोगबनी बजार भर्न आएको देखेपछि गाडी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीको रोहबरमा जिम्मा लगाइएको थियो ।
गाडीमा लत्ताकपडा थियो, युवा आजादले भन्नुभयो–सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आउजाउमा समस्या हुने, सरकारी गाडी चढेर आउनेहरु चाँहि जान पाउने रु
सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता महेशकुमार पोख्रेलका अनुसार उक्त गाडी सीडीओ ढकालले प्रयोग गर्दै आउनु भएको छ ।
कम्प्यूटरको डिभाईस खरिद गर्नुपर्ने थियो,पोख्रेलले ढाकछोप गर्ने शैलीमा भन्नुभयो–चालकलाई सामान लिन पठाएका हौं ।
उहाँले राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमका लागि आवश्यक डिभाईस नभएर खरिद गर्न पठाएको दावी गर्नुभयो । तर, सरकारी कार्यालयले कुनै पनि सामान यसरी खरिद गर्न पाउँदैन ।
सीडीओको गाडी प्रयोग गरेर परिवारका सदस्यहरु किनमेल गर्न आईपुगेको खुलेको छ । खरिद गरिएका सामान ल्याउँदै गाडीमा हालेको देखेपछि युवाहरुले सरकारी गाडीको दुरुपयोग गरिएको भन्दै विरोध गरेका थिए ।
त्यसपछि प्रहरीले किनमेल गर्न आउने परिवारलाई अर्कै बाटो प्रयोग गरेर नेपाल प्रवेश गराएको थियो ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार गाडी जिल्ला प्रशासन कार्यालय सुनसरी फर्काइसकिएको छ ।
सरकारी गाडी नै थियो, प्रहरी निरीक्षक थापाले भन्नुभयो–युवाहरुले देखेर हल्ला गरेका हुन् ।
स्रोत: आवर बिराटनगर डट नेटबाट