काठमाडौँ,। गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्ने जनाएको छ ।
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने जो कोहीलाई पनि तत्काल नियन्त्रणमा लिइ कानुनी कारबाही गर्ने बताएको हो ।
कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो ।’विज्ञेप्तीमा भनिएको छ ।
बिहीबार राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो, घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन् ।
बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको बाँके प्रहरीले जनाएको छ । उनीहरु तिनैजना पक्राउ परेको प्रहरीले जनाएको छ, अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ ।
साथै, मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।