काठमाडौं,। प्रधानमन्त्री केपी शर्मा ओलीको करिब पाँच वर्ष पुरानो एक ट्वीट सामाजिक सञ्जालमा भाइरल बनेको छ । गत मंगलबार सरकारले थारू कल्याणकारिणी सभा, थरूहटरथारूवान संयुक्त संघर्ष समितिसँग ६ बुँदे सहमति गरेपछि प्रधानमन्त्री ओलीको उक्त ट्वीट भाइरल बनेको हो ।
उतिबेला प्रधानमन्त्री ओलीले रेशमलाल लगायत टीकापुर घटनाका दोषीहरुलाई जघन्य अपराधीको संज्ञा दिँदै कुनै पनि हालतमा मुद्दा फिर्ता नहुने बताउनुभएको थियो । तर अहिले जब सत्ता–संकट चुलियो, उही रेशमको मुद्दा फिर्ता गरेर जसपाको एउटा खेमालाई खुसी पार्न ओली सरकार बाध्य भएको छ ।
सरकार र थरूहट संयुक्त संघर्ष समितिसँग सहमति भएको पहिलो बुँदामा टीकापुर घटनाका अभियुक्त धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको मुद्दा फिर्ता र रिहाइका लागि सरकारले पहल गर्ने उल्लेख छ । उक्त सहमतिपछि एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले २०७३ असोज १२ गते गर्नुभएको ट्वीट भाइरल बनेको हो ।
‘कैलाली, टीकापुरको घटनाका दोषीहरुको मुद्दा फिर्ता लिने प्रक्रिया ओली नेतृत्वको सरकारकै पालामा अघि बढिसकेको’ भन्ने तत्कालीन फोरम लोकतान्त्रिकका महासचिव एवं सांसद रामजनम चौधरीको भनाइलाई खण्डन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभएको थियो( ‘टीकापुर घटनाजस्ता जघन्य अपराधका कुनै पनि मुद्दाहरु मेरो कार्यकालमा फिर्ता लिने निर्णय नभएको प्रष्ट पार्दछु ।’