काठमाडौं,। सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे संविधान तथा कानुन विज्ञहरुसँग छलफल गरेर मिति तोक्ने निर्णय भएको छ ।
शुक्रबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले स्थानीय तह निर्वाचनका सन्दर्भमा कानुन विज्ञहरुसँग छलफल गरेर निर्वाचन मिति तोक्ने निर्णय भएको हो ।
संविधानअनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन गर्ने भनिएको छ । तर निर्वाचन ऐनअनुसार भने कार्यकाल सकिन २ महिना अगावै निर्वाचन गरिसक्नु पर्ने उल्लेख छ ।
यी दुईमध्ये एकलाई आधार मानेर स्थानीय तहको निर्वाचन गर्न कानुनी विद्हरुसँग छलफल गरिने गठबन्धनले निर्णय गरेको छ । कानुनी विद्हरुसँग छलफल गरेपछि स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहमति पनि भएको छ ।