नसीम अन्सारी
सुनसरी,। कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सुनसरी जिल्ला भित्र रहेका ५ वटा मरकज जामे मस्जिदहरुको अनुगमन गरिएको छ।
राष्ट्रिय मुस्लिम आयोगबाट गठित जिल्ला स्तरीय अनुगम समितिका संयोजक डाक्टर खालिद हुसैनको नेतृत्वमा १० सदस्यीय अनुगमन टोलीले ५ वटा मरकज जामे मस्जिद सेन्टर अन्तरगत रहेका ३ सय ३ वटा जामे मस्जिदका ईमाम,मस्जिदका जिम्मेवार व्यक्ति, स्थानीय वडाअध्यक्ष, सदस्य, मुस्लिम समुदायका अगुवासँंगको सहकार्य र समन्वयमा दुई दिन देखि मस्जिदको स्थलगत अनुगमन गरिएको छ।

अनुगमनका लागि सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, जिल्ला प्रहरी कार्यालय सुनसरीका एसएसपी यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी सुनसरी जिल्ला प्रमुख , अनुसन्धान सुनसरी जिल्ला प्रमुख , जिल्ला स्तरीय अनुगमन समिति, सुनसरी जिल्ला भरका इस्लाम धर्मगुरु, मुस्लिम अगुवा नेता , गाउँपालिका अध्यक्ष लगायतको उपस्थितिमा शनिबार छलफल हुदाँ अनुगमन गर्ने १० बुँदे सहमति भएको छ।
मुस्लिम समुदायको अवस्था बुझ्न आग्रह गरिए अनुसार अनुगमन गरिएको र आपसी धार्मिक सद्भाव तथा एकतालाई अझ बलियो बनाउँदै कोरोना भाइरसको जोखिमविरुद्ध लड्न आवश्यक रहेको छलफलमा प्रमुख पौडेलले बताए।
सुनसरीको हरिनगर गाउँपालिकास्थित वडा नं. ५ मा रहेको वसन्तपुर जामे मस्जिद मरकज, इनरुवा नगरपालिकास्थित वडा नं. १० जल्लपापुरमा रहेका नुरी जामे मस्जिद मरकज , दुहबी नगरपालिका बजारमा रहेका जामे मस्जिद मरकज, भोक्राहा नरसिंह गाउँपालिकास्थित वडा नं. २ मा रहेका जामे मस्जिद मरकज र कोशी गाउँपालिका जुधगंजमा रहेको जामे मस्जिद मरकज अनुगमनको क्रममा बहिरबाट नयाँ आगन्तुक नआएको मस्जिदमा पनि समेत कोई नदिएको हुसैनले जानकारी दिए।
अनुगमनमा सहभागि राजपाका राष्ट्रिय प्रवक्ता सन्तोष मेहताले मुस्लिम समाज कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सामूहिक रुपमा सचेत रहेको उल्लेख गरे।
अनुगमन समिति सदस्य तथा नेपाल मुस्लिम संघ १ नं. प्रदेशका सचिव नईम अन्सारीले अन्यत्रबाट कोही पाहुना आएका भए तत्काल प्रहरी अथवा स्थानीय निकायलाई जानकारी दिन र लकडाउनको पालना गर्न आग्रह गरे।
जिल्ला स्तरीय अनुगमन समितिका संयोजक डाक्टर खालिद हुसैनले अनुगमनका क्रममा मुस्लिम अगुवाहरु कोरोना भाइरसको जोखिम हुन नदिन सचेत भएको र सहयोगी भूमिका खेलेको बताए। सुनसरी जिल्लामा जम्मा ५ वटा मरकज जिल्ला भित्र रहेको छ। ५ वटा मरकजमा मात्रै ३ सय ३ वटा मस्जिद रहेको उहाँले जानकारी दिनुभएको हो।
