स्मार्ट २४ न्यूज
मोरङ,। प्रदेश १ मोरङको सुन्दरहरैंचा गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टरमा रहेकाहरुलाई आयुर्वेदिक औषधि दिन थालिएको छ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने आयुर्वेदिक औषधि संक्रमितलाई दिन थालिएको हो।आयुर्वेद विभागले जारी गरेको प्रोटोकलअनुसार प्रदेश सरकारको निर्देशनमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र उपचाररत रहेकै स्थानमा पुगेर संक्रमितलाई चार प्रकारका औषधि प्रदान गर्न थालेका छन्।
औषधि वितरणका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा। रवीन्द्र निरौला र केन्द्रका बरिष्ठ कविराज निरीक्षक रवीन्द्र मेहतालाई खटाइएको छ।
आयुर्वेदको स्वास्थ्य जीवन कार्यक्रममार्फत संक्रमितलाई सेवन गर्ने तरिका सिकाउँदै औषधि वितरण भइरहेको केन्द्रले जनाएको छ।
पहिलो चरणमा सुन्दरहरैंचाको पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टरमा उपचाररत रहेका ५९ जनालाई औषधि दिइएको निरीक्षक मेहताले बताए।
उनका अनुसार संक्रमितलाई अश्वगन्धा चूर्ण, आमलकी चूर्ण, यष्ठिमधु चूर्ण र जडिबुटी चिया नामक औषधि दिइएको छ।
सबै औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने र शरीरमा विभिन्न खाले भाइरसको असर कम गर्दै लैजाने जानकारी मेहताले दिए।
यी सबै औषधि दैनिक पाँच÷पाँच ग्राम दुई पटकसम्म प्रयोग गर्नु पर्छ। विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा पनि औषधि वितरणको तयारी भइरहेको उनले जानकारी दिए।
संक्रमित बाहेक कोरोनाविरुद्ध अग्रभागमा उभिने र खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई पनि यी औषधि वितरणको तयारी भइरहेको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ।
मेहताका अनुसार भारतका धेरै ठाउँमा आयुर्वेदिक औषधि सफल भएपछि नेपालमा पनि प्रयोग गर्न थालिएको हो।
आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शरीरभित्र असर गर्ने कोरोना भाइरसबाहेक विभिन्न किसिमका सुक्ष्म जीवाणुलाई मार्छ,’ उनले भने, ‘तर अहिलेसम्म कोरोना भाइरसलाई भने नष्ट गरेको पुष्टि भइसकेको छैन।’
मेहताले आयुर्वेदिक औषधि नियमित सेवन गर्नाले कुनै असर नगर्ने र बाहिरी भाइरसले भने शरीरमा आक्रमण गर्न नसक्ने उल्लेख गरे।
‘आयुर्वेदिक औषधिको कुनै ‘साइड इफेक्ट’ छैन,’ उनले भने, ‘बरु स्वास्थ्यमा हानी पुर्याउने अरु भाइरस एवं जीवाणुलााई शरीरभित्र प्रवेश गर्नबाट रोक्छ।’
त्यस्तै क्वारेन्टाइनमा राखिएका कारोना भाइरसका संकास्पदहरुलाई पनि रोग प्रतिरोधात्मक क्षमता बढाउने किसिमका आयुर्वेदिक औषधि र जडिबुटी दिन थालिएको छ।
मेहताकाअनुसार पहिलो चरणमा रतुवामाईको इटहरामा ७९, सौंठामा ७९, कल्याणपुरमा २२ जना र पथरीशनिश्चरेमा ४८ जनालाई औषधि तथा जडिबुटी दिइएको छ।
गुर्जो नामक लहरा जडिबुटी र यष्ठिमधु चूर्ण नामक औषधि दिइएको हो। लहरा पानीमा पकाएर चियाका रुपमा दिनको दुई पटक प्रयोग गर्न सकिने आयुर्वेद चिकित्सकले बताएका छन्।
मोरङमा दुई ठाउँमा कोरोना संक्रमितको उपचार भइरहेको छ। बुधबार बिहानसम्ममा पूर्वाञ्चल विश्वविद्यालयमा ८१ पुरुष र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २१ पुरुष र ७ महिला गरेर २८ जना संक्रमितको उपचार भइरहेको हो।
मोरङमा रहेका ७१ वटा क्वारेन्टाइनमा बुधबार बिहानसम्ममा १ हजार १ सय ५३ पुरुष र १ सय ३६ महिला गरेर १ हजार २ सय ८९ जना रहेका छन्।