स्मार्ट २४ न्यूज
भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकामा २ जना र रामधुनी नगरपालिका १ जना गरि थप ३ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
हरिनगर गाउँपालिका १ भुटाहास्थित भुटाहा जेनरल हस्पिटल क्वारेन्टाइनमा बस्दै आएको २ पुरुषको रिपोर्ट पोजेटिभ आएको क्वारेन्टाइन व्यवस्थापक डाक्टर अलाउद्दीन अन्सारीले बताएको हो।
अन्सारीको अनुसार सोमबार क्वारेन्टाइनमा रहेका २३ जनाको स्वाब संकलन गरी विराटनगर पठाइएको थियो । जसमध्ये २ जना पुरूषको रिपोर्ट पोजेटिभ आएको छ भन्ने बाँकी २१ जनाको रिपोर्ट नगेटिभ आएको छ।
रिपोर्ट पोजेटिभ आउने दुवै जनालाई उपचारको लागि प्रदेश सरकारले कोभिड १९ अस्पताल मोरङको सुन्दरहरैंचा गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन सेन्टरमा पठाइएको अन्सारीले बताए ।
त्यसगरि आजै १ जना रामधुनी नगरपालिका क्षेत्रीय कृषि तालिम केन्द्र क्वारेन्टाइनमा रहेका ३० वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको रामधुनी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलका अनुसार रामधुनी ५ घर भएका ३० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
उनी भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका व्यक्ति हुन गत मंगलबार क्वारेन्टाइनमा रहेका ३४ जनाको स्वाब संकलन गरी विराटनगर पठाइएको थियो । जसमध्ये ति पुरूषको रिपोर्ट पोजेटिभ आएको हो ।
पछिल्लो थपिएका ३ जना सँगै सुनसरी जिल्लामा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४६ पुगेको छ ।बिहीबार थपिएका सबै जान क्वारेनटाइनमै बसेका पुरुषहरू रहेको बताइएको छ ।