दुहबी,। सुनसरीको दुहबीस्थित पशुपति शिलप्याक इन्डस्ट्रिजका प्रडक्सन इञ्चार्ज पाँच महिला कामदारमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।
रातको समयमा ड्युटीमा खटिने महिला कामदारलाई पटक पटक यौन दुर्व्यवहार गरेको आरोपमा भारत राजस्थान घर भई सुनसरीको दुहबीमा बस्दै आएका २४ वर्षका पवन शर्मालाई इलाका प्रहरी कार्यालय दुहबीले पक्राउ गरेको हो ।
शर्मा उक्त उद्योगको शिलप्याक विभागका प्रडक्सन इञ्चार्ज हुन् । प्लास्टिकका बोरा, त्रिपाललगायत सामग्री बनाउने काममा खटिने कर्मचारीलाई यौन दुर्व्यवहार गरेको उजुरी परेपछि पक्राउ गरेको इलाका प्रहरी कार्यालय दुहबीले बताएको छ ।
पक्राउ परेका शर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
शर्माले महिला कामदारलाई संवेदनशील अंगमा छुने र शारीरिक सम्पर्कका लागि बारम्बार दबाब दिने गरेको भनी प्रहरीमा उजुरी परेको थियो ।
‘मदिरा सेवन गरी काम गरिरहेको ठाउँमा आएर संवेदनशील अंगमा छुन खोज्यो’ उद्योगमा कार्यरत एक कर्मचारीले भनिन्, ‘प्रतिरोध गर्दा जागिरबाट निकाल्ने धम्की दिन्थे ।’
शर्मा पक्राउ परेपछि मुद्धा नचलाउनका लागि दबाब आएको प्रहरी स्रोत बताउँछ।