इनरुवा,। सनुसरीको बराहक्षेत्र नगरपालिकामा मेलमिलापकर्ताहरुलाई ४ दिने तालिम दिन सुरु गरेको छ ।
स्थानीय तहमा न्याय निरूपणलाई र न्यायिक समितिका कामहरूलाई प्रभावकारी बनाउने उद्देश्यले बराहक्षेत्र नगरपालिकाले सामुदायिक मेलमिलापकर्ताहरूका लागि ४ दिने तालिम सुरु गरेको हो ।
मेलमिलापको सिद्धान्त, उपादेयता, मेलमिलापकर्ताका गुण, विशेषता, क्षेत्राधिकार तथा यसको सही प्रयोग लगायतका विषयमा जानकारी गराउने गरी बराहक्षेत्रमा मंगलबारदेखि तालिम सुरु भएको छ ।
एक समारोहका बीच तालिमको उद्घाटन गर्दै नगरपालिका न्यायिक समितिमा संयोजक एवं उप–प्रमुख कमला मगरले न्यायिक समितिका कामहरू प्रभावकारी बनाउने र समुदायस्तरमा पनि मेलमिलापका कामलाई थप सहज बनाउनका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो ।
वहाँले सुरुमा आठ दिने तालिम दिएको अहिले पूनरताजगीका लागि चार दिने तालिम दिएको बताउनुभयो ।
मेलमिलापबाट दुवै पक्षले न्यायको अनुभूति गर्ने भएकाले मेलमिलाप प्रक्रियालार्ई विशेष महत्व दिएको उल्लेख गर्दै संयोजक मगरले विवादहरूलाई मेलमिलापका माध्यमबाट समाधान गरिँदा प्रभावकारी हुने र त्यसले सबैलाई फलिदाय हुने बताउनुभयो ।
नगरपालिकाका प्रमुख निलम खनालले मेलमिलापकर्ताहरूले न्यायको सिद्दान्त र आफ्नो मर्यादालाई ख्याल गर्दै सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
समुदायस्तरमा मेलमिलापका काम गराउँदै आएका ५० जना सामुदायिक मेलमिलापकर्ताहरू उक्त तालिममा सहभागी रहेको न्यायिक समितिले जानकारी दिएको छ ।
नगरपालिकाको न्यायिक समितिले सामुदायिक मेलमिलापलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । मेलमिलाप र स्थानीय तह, मेलमिलापका थप सीपहरू, हानी नगरौं भन्ने सिद्धान्त र मेलमिलाप, मेलमिलापमा अवरोधको अवस्था र अवरोध हटाउने तरिका, मेलमिलापको प्रक्रिया तथा चरणलगायतका विषयमा तालिम दिइने छ ।
तालिममा प्रगती जागरण मञ्च इनरुवाका मेघराज न्यौपाने, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य तथा तथा सुनसरी जिल्ला अदालतमा सूचिकृता मेलमिलापकर्ता जयकृष्ण यादव लगायतले सहजिकरण गरीरहनुभको छ ।
नगरको वडावडामा विवादहरू मेलमिलापको माध्यमबाटै समाधान गर्दै आएको बताएको छ । वडा तहमा पनि मेलमिलापकै माध्यमबाट विवादको निरूपण गरिँदै आएको जनाएको छ ।
नगरक्षेत्रमा सम्बन्ध विच्छेद, घरेलु हिंसा, घर बहाल सम्झौता, जग्गा, साधसिमाना, आफ्नो निजी जग्गामा अरुले संरचना बनाएको तथा सिमाना विवादका मुद्दाहरू न्यायिक समितिमा आएको जनाएको छ ।